News Portal

गलत डिजाइनले तामाकोसी नदीकाे पुल निर्माण ९ वर्षदेखि अलपत्र

हिमाली संचार संवाददाता
५४० पटक

दोलखा : कन्सल्टेन्टको गलत डिजाइनका कारण दाेलखाकाे भोर्लेस्थित तामाकोसी नदीमा पुल निर्माण ९ वर्षदेखि अलपत्र परेको छ। नेपाल कन्सल्ट प्रालिले साविक लादुक गाविस र सुरी गाविस जोड्ने गरी भोर्लेस्थित तामाकोसी नदीको स्टिल ट्रस पुलमा गरिएको डिजाइनमा ४० टन तौल अपुग भएपछि पुल निर्माण अलपत्र परेको हो।

कन्सल्टेन्टले करीब १६४ टन स्टिल फेब्रिकेसनको सिफारिश गरेको थियो। दुई फरक वर्कसपमा डिजाइन गर्दा करीब २०४ टनको हिसाब निस्किएपछि डिजाइन गलत सावित हुनआएको डिभिजन सडक कार्यालय दोलखाले जनाएको छ।

कन्सल्टेन्टले सिफारिश गरेको डिजाइन, मापदण्ड र तौलअनुसार पटकपटक वर्कसप डिजाइन गर्दा पनि ४० टन तौल अपुग भएर अन्योल भएपछि नौ वर्षसम्म पुल बन्न सकेको छैन। फुटपाथसहित ६६ मिटर लम्बाइको एक लेनको पुल निर्माणका लागि विसं २०६६ माघ १८ गते रौताहा महादेव जेभीसँग ठेक्का सम्झौता भएको थियो।

तीन करोड ५८ लाख ७१ हजार ६१६ को लागतमा २०६८ माघ १७ गते काम सम्पन्न हुनुपर्ने उक्त पुलको डिजाइन नमिल्दा हालसम्म पुल बन्न नसकेको हो। रौताहा महादेव जेभीले सम्झौताअनुसार करीब एक वर्षको अवधिभित्र स्टिल ट्रसबाहेक अन्य सम्पूर्ण काम सम्पन्न गरिसकेको दाबी गरेको छ।

सडक डिभिजन कार्यालयले ठेकेदारलाई लगातार पुल बनाउन ताकेता गर्ने तर डिजाइन सिफारिश गर्ने कन्सल्टेन्टलाई कारबाही नगर्दा पुल अलपत्र परेको हो भन्नुहुन्छ ठेकेदार कम्पनीका आधिकारिक प्रतिनिधि ग्याल्बो तामाङ। “पुल बनाउँदा थपिएको पुलको पाता कसले बेहोर्ने भन्नेमै विवाद छ”, उनले भने।

सडक डिभिजन कार्यालय चरिकोटदेखि सडक विभागको पुल महाशाखासम्मले समस्याको समाधान गर्न नसकेपछि क्षतिपूर्ति माग राख्दै ठेकेदार कम्पनीले उच्च अदालत पाटनमा मुद्दासमेत दायर ग–यो। तर पछि कन्सल्टेन्टलाई कारवाही गरेर भेरियसनवापतको रकम भुक्तानी गर्ने सहमतिमा ठेकेदार कम्पनीले विसं २०७४ पुस २८ गते मुद्दा फिर्ता लिएता पनि हालसम्म काम अघि बढ्न सकेको छैन।

“डिजाइन गलत भएकामा कन्सल्टेन्टले पनि गल्ती स्वीकार ग–यो” कम्पनीका आधिकारिक प्रतिनिधि तामाङले भने, “थपिएको फलामको भुक्तानी गर्नेमै कार्यालयकै आलटालले अड्किएको छ।” पुलको काम शुरु हुँदा फलामे पाताको बजार मूल्य प्रतिकिलो १४० थियो। तर अहिले रु ३४० पुगेको छ। यो बढेको मूल्यसमेत कसले बेहोर्ने भन्नेमा पनि विवाद उत्पन्न भएको तामाङले प्रष्ट पारे।

पुलको काम शुरु हुँदा डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख उमेशविन्दु श्रेष्ठ थिए, पछि छ डिई फेरिए, सबैको बचन ‘पुल जसरी पनि पूरा गर्ने’ भए तापनि कसैले पूरा गर्न सकेका छैनन्।

सरकारको लगानीको पुल समयमा पूरा नभएपछि मार्बूको खानीखोलामा निर्माणाधीन खानीखोला–१ जलविद्युत् आयोजनाले आफ्नै लगानीमा पाँच वर्षअघि भोर्लेसहित चार बेलिब्रिज हालेर आफ्नो काम गरिरहेको छ।

विगू गाउँपालिका र गौरीशङ्कर गाउँपालिका जोड्ने भोर्ले पुल निर्माण हुनसके गौरीशङ्कर गाउँपालिका सिङ्गोलाई सुविधा पुग्छ। त्यस क्षेत्रमा खानीखोला, खारेखोला, घट्टेखोला, बध गुरुम्फी खोला र तिनेखु खोलामा आधा दर्जन बढी जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन्। तर सात वर्षअघि पुलको दायाँबायाँ उठाएको एबुटमेन्ट चर्कनुका साथै रडहरु खिया लागेर खाइसके पनि पुल बन्ने पत्तो छैन।

गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले भने समस्या तत्काल समाधान गर्दै पुल चाँडो बनाउनुपर्नेमा जोड दिए। त्यसैगरी केही दिनअघि मात्रै नयाँ डिई भएर आउनुभएका धर्मेन्द्र झाले पुलको प्रारम्भिक डिजाइनमा समस्या रहेको भए पनि पछिल्लो पटक १९४ टनको भेरियसन अर्डर पास भइसकेको उल्लेख गर्दै सोही अनुरुप ठेकेदारले तुरुन्त काम गर्नुपर्ने बताए। रासस

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...