सीमामै प्रहरी चौकी र बीओपी तस्करी राेक्न जिल्लाकाे टाेली

मोरङको रंगेली ५ स्थित धनापट्टि क्षेत्रबाट सशस्त्र प्रहरी बलको विशेष टोलीले अबैध रुपमा नेपाल भित्र्याउदै गरेको अवस्थामा खाद्यान्न सामग्री बरामद गरेको छ। प्रहरीले १ लाख १५ हजार ५०० रुपैयाँ बराबर रहेको खाद्यान्न सामग्री सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङका विशेष प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीकाे कार्यक्षेत्र अन्तर्गतमा रहेकाे आमगाछी प्रहरी चौकी (क), आमगाछी प्रहरी चौकी (ख) तथा सिमा सुरक्षा गुल्म मायाँगन्ज मातहतको धनापट्टी बेस क्याम्प रहेको सीमावर्ती क्षेत्रमा अवैध सामानको ओसारपसार नरोकिएको भन्दै जिल्ला बाट खटिएको टाेलीले सिमाक्षेत्रमा आएर सामान वरामद गरेपछि यहाँ रहेका नेपाल प्रहरी र विओपीका प्रमुख माथि गम्भीर प्रश्न उठ्न थालेको छ।
यस क्षेत्र बाट खाद्यान्न, लत्ताकपडा, हार्डवेयरलगायतका सामग्री भन्सार छली गरी नेपाल भित्र्याउने गरिएको खबरहरु पटक–पटक सार्वजनिक हुँदै आए पनि सीमामै तैनाथ सुरक्षाकर्मीहरुले प्रभावकारी रुपमा नियन्त्रण गर्न नसक्नु तर जिल्लाका प्रहरीले सामान बरामद गर्नु कतिकाे लज्जास्पद कुरा हाेला ? सीमाक्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी चौबीसै घण्टा निगरानीमा खटिने गरे पनि उनीहरूकै कार्यक्षेत्रबाट अवैध सामान भित्रिने गरेको छ। अझ रोचक पक्ष के छ भने, सीमाक्षेत्रबाट निर्वाध रूपमा भित्रिएको भनिएका सामान जिल्ला तहबाट खटिएको सशस्त्र प्रहरीको विशेष टोलीले सीमाबाट करिब दुई किलोमिटर भित्र पुगेपछि बरामद गर्ने गरेको छ।
सीमाक्षेत्रमै रहेका नेपाल प्रहरीका चौकी तथा सशस्त्र प्रहरीका बीओपीले किन यस्ता गतिविधि नियन्त्रण गर्न सकिरहेका छैनन् भन्ने थप प्रश्न उठेको छ। सीमाबाट सामान भित्रिँदा निगरानी कमजोर हुने तर त्यही सामान केही दूरी पार गरेपछि मात्रै विशेष टोलीको नजरमा पर्ने अवस्थाले स्थानीयस्तरमा शंका उत्पन्न भएको छ। के सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीको निगरानी कमजोर भएकै हो वा तस्करी नियन्त्रणमा कतै मिलेमतोको आशंका रहेको स्पष्ट देखिन्छ ।
सीमा सुरक्षाको जिम्मेवारी पाएका निकायले आफ्नो कार्यक्षेत्रमा हुने अवैध ओसारपसार रोक्न नसक्नु र माथिल्लो तहबाट खटिएको विशेष टोलीले मात्रै सामान बरामद गर्नुले सुरक्षा संयन्त्रमै समन्वय र कार्यक्षमताबारे प्रश्न उव्जाएकाे छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी, मोरङले वभिन्न समयमा सिमाक्षेत्र बाट अबैध सामनहरु बरामद गर्दे आईरहेकाे प्रमुख प्रहरी उपरीक्षक (एसपी) गेहेन्द्रबहादुर भण्डारीले बताउनुभयो ।


















