पाँच वर्ष के हेरेर बिताए अध्यक्षले? अन्तिम घडीमा मात्रै सडक पिचको सम्झना!

धादिङ-धादिङको गङ्गाजमुना गाउँपालिकाको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको गङ्गाजमुना माई मेलाको मञ्च यसपटक धार्मिक तथा सांस्कृतिक उत्सवमा मात्र सीमित रहेन। गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले आफ्नो कार्यकाल सकिन लागेको प्रसङ्ग उठाउँदै बागमती प्रदेशका मुख्यमन्त्रीसमक्ष गाउँपालिकाभित्रका केही सडक कालोपत्रे गरिदिन आग्रह गरेपछि उनको अभिव्यक्तिले राजनीतिक तथा सामाजिक वृत्तमा प्रश्न उठाएको छ।
मेलामा प्रमुख अतिथिका रूपमा उपस्थित मुख्यमन्त्रीसमक्ष अध्यक्ष लामाले दुवै हात जोड्दै आफ्नो कार्यकाल समाप्त हुन लागेको उल्लेख गर्दै कार्यकाल सकिनुअघि भए पनि गाउँपालिकाका केही सडक कालोपत्रे गरिदिन आग्रह गर्नुभएको थियो।
अध्यक्षको उक्त अभिव्यक्तिले एउटा गम्भीर प्रश्न जन्माएको छ—पाँच वर्षसम्म गाउँपालिकाको नेतृत्व सम्हाल्दा सडक कालोपत्रेलाई प्राथमिकतामा राखेर ठोस परिणाम दिन किन सकिएन? कार्यकालको अन्तिम समयमा आएर मात्रै विकासका लागि प्रदेश सरकारसँग सार्वजनिक मञ्चबाट आग्रह गर्नुपर्ने अवस्था किन आयो?
जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जनताको आधारभूत आवश्यकता पूरा गर्ने, विकासका योजना बनाउने र तिनलाई कार्यान्वयन गर्ने महत्त्वपूर्ण अवसर हो। सडक, खानेपानी, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार विकासलाई योजनाबद्ध रूपमा अघि बढाउनु स्थानीय सरकारको प्रमुख जिम्मेवारीभित्र पर्छ। तर कार्यकालको अन्तिम घडीमा आएर सडक कालोपत्रेको विषयलाई प्राथमिकताका साथ उठाउनु विगत पाँच वर्षको कार्यसम्पादनमाथि समीक्षा गर्नुपर्ने विषय बनेको छ।
गङ्गाजमुना गाउँपालिकाको आन्तरिक आयस्रोत निकै सीमित रहेको यथार्थलाई पनि बेवास्ता गर्न मिल्दैन। सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानको ठूलो हिस्सा कर्मचारीको तलब, भत्ता र प्रशासनिक खर्चमा जाने गरेको स्थानीयस्तरमा चर्चा हुँदै आएको छ। यस्तो अवस्थामा विकास निर्माणका लागि थप बजेट जुटाउन प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गर्नु आवश्यक हुन्छ। तर यस्तो समन्वय र बजेट व्यवस्थापन कार्यकालको अन्तिम समयमा मात्रै होइन, सुरुदेखि नै निरन्तर हुनुपर्ने होइन र?
अझ ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको गङ्गाजमुना माई मेलाजस्तो सार्वजनिक कार्यक्रममा विकास निर्माणका विषय उठाउनु आफैँमा गलत होइन। तर धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई राजनीतिक भाषणको मञ्च बनाउने र कार्यकालको अन्तिम समयमा आएर विकासको आश्वासन तथा बजेटको आग्रह गर्ने प्रवृत्तिमाथि प्रश्न उठ्नु स्वाभाविक हो।
अध्यक्ष लामाको यो अभिव्यक्तिलाई लिएर अब गाउँपालिकाको पाँचवर्षे कार्यकालमा भएका विकास निर्माणका काम, सडक कालोपत्रेका योजना, विनियोजित बजेट र खर्चको विवरण सार्वजनिक हुनुपर्ने आवश्यकता देखिएको छ। आखिर पाँच वर्षमा के–कति काम भए? कुन–कुन सडकमा बजेट विनियोजन भयो? प्रदेश र सङ्घीय सरकारसँग विकासका लागि कति पहल गरियो? यी प्रश्नको जवाफ जनताले पाउनुपर्छ।
जनताले जनप्रतिनिधिबाट भाषण होइन, परिणाम खोजेका छन्। सडक कालोपत्रेको आश्वासन होइन, आफ्नै गाउँमा पक्की सडक देख्न चाहेका छन्। कार्यकालको अन्तिम समयमा गरिएको आग्रहले मात्र पाँच वर्षको जिम्मेवारी पूरा भएको मान्न सकिँदैन।
पाँच वर्षसम्मको विकासको हिसाब अब जनताले खोज्नेछन्। किनकि विकास भाषणमा होइन, काममा देखिनुपर्छ। कार्यकाल सकिन लाग्दा गरिएको प्रतिबद्धताभन्दा पाँच वर्षमा हासिल भएको उपलब्धि नै नेतृत्वको वास्तविक मूल्याङ्कन हो।



















