झापाली समाज युएईको ११औँ स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न

झापाली समाज युएईको ११औँ स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न
झापा । युएईको नेपाली सामाजिक परिवेशमा सक्रिय झापाली समाज युएईले आफ्नो ११औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ।
बिर्तामोडस्थित होटल आनन्दमा गत कात्तिक २४ गते मंगलबार समाजले ११ वटा दीप प्रज्वलन गर्दै स्थापना दिवस मनाएको हो। दसैँ तथा तिहारको अवसर पारेर आयोजित कार्यक्रममा शुभकामना आदानप्रदानसँगै समाजले ११ वर्षको अवधिमा गरेका सामाजिक गतिविधिको समीक्षा गरिएको समाजका संस्थापक परिकल्पनाकार रामप्रसाद ढुंगेलले जानकारी दिए।
झापाली समाज युएईका केन्द्रीय सचिव भुपेन्द्र आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रवासी नेपाली सम्पर्क मञ्चका अध्यक्ष सुदर्शन रोक्का, अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका संस्थापक कृष्णदेव दुलाल तथा समाजका पूर्व पदाधिकारीहरू राजेन्द्रकुमार दाहाल र दुर्गेस सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए।
वक्ताहरूले झापाली समाज युएईले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीहरूलाई युएईमा मात्र नभई नेपालमा समेत सहयोग गर्दै आएको सामाजिक योगदानको प्रशंसा गरेका थिए।
समाजका पूर्व अध्यक्ष मोहन शिवाकोटीले एक दशकअघि युएईको एउटा पार्कमा भेला आयोजना गरी विभिन्न चुनौतीका बीच स्थापना भएको समाज आजको अवस्थामा आइपुगेको स्मरण गरे। उनले समाजलाई यहाँसम्म ल्याउन करिब पाँच सय आजीवन सदस्यहरूको महत्वपूर्ण योगदान रहेको बताए।
त्यस्तै, समाजका पूर्व महासचिव तेजमणि सुवेदीले विगतका गतिविधि स्मरण गर्दै नेपालमा सामाजिक कामलाई निरन्तरता दिन विभिन्न चुनौती रहेको उल्लेख गरे।
समाजको नेपाल सम्पर्क समितिका कोषाध्यक्ष सुमन भट्टराईले नेपालको आर्थिक अवस्थाका कारण बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर घटेर ३.५ प्रतिशतसम्म पुगेको र त्यसको प्रभाव समाजले स्थापना गरेको अक्षयकोषबाट प्राप्त हुने ब्याज आम्दानीमा परेको जानकारी दिए।
कार्यक्रममा समाजका पूर्व महिला विभाग प्रमुख लीला बिमली, आजीवन सदस्यहरू कमला पाण्डे मैनाली, सीता उप्रेती, सीता पाठक, काशीनाथ कार्की, लीला बस्नेत, दुर्गाप्रसाद कडरिया, राम दाहाल र बद्री ओलीलगायतको उपस्थिति थियो। सहभागीहरूले स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान गर्दै एकता, सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
समाजका पूर्व अध्यक्ष तथा हाल नेपाल सम्पर्क समितिका अध्यक्ष अशोक चापागाईंले समाजको कोषमा रहेको करिब २५ लाख रुपैयाँको मूलधन खर्च नगरी त्यसबाट प्राप्त हुने ब्याजमार्फत झापाका १५ वटै पालिकाबाट एक–एक जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिए।
उनले बैंकको ब्याजदर घटेका कारण समाजले विगतदेखि सञ्चालन गर्दै आएको जाडो मौसममा न्यानो कपडा वितरण कार्यक्रमलाई निरन्तरता दिन आर्थिक चुनौती थपिएको बताए। साथै, झापाली समाज युएईको स्थापना दिवस कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
झापाली समाज युएई नेपाल सम्पर्क समितिका अध्यक्ष अशोक चापागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सम्पर्क समितिका सचिव राजु उप्रेतीले गरेका थिए।


















