मोरङको बक्रा खोला बगरबाट २६४ किलो ५९० ग्राम गाँजा बरामद

मोरङ – मोरङको रतुवामाई नगरपालिका–५, गोविन्दपुरस्थित बक्रा खोला बगरबाट प्रहरीले २६४ किलो ५९० ग्राम तयारी गाँजा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय सिजुवाले बिहीबार दिउँसो करिब १ः३० बजे बक्रा खोला बगरमा बेवारिसे अवस्थामा लागुऔषध गाँजा रहेको भन्ने गोप्य सूचना प्राप्त गरेको थियो।
सूचनापछि प्रहरी निरीक्षक कैलाश लिम्बुको कमान्डमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा स्थानीय काँसघारीमा लुकाइछिपाइ राखिएको गाँजा फेला पारेको हो।
प्रहरीका अनुसार सेतो रङका आठवटा बोरामा राखिएको कुल २६४ किलो ५९० ग्राम तयारी गाँजा बरामद गरी नियन्त्रणमा लिइएको छ।बरामद गाँजा कसले र कुन उद्देश्यले त्यहाँ लुकाएर राखेको थियो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



















