विराटनगरका टार्जन बुढाथोकीलाई अस्ट्रेलियाको बहुसांस्कृतिक उत्कृष्टता पुरस्कार

विराटनगर। विराटनगरका नेपाली युवा उद्यमी टार्जन बुढाथोकी अस्ट्रेलियाको प्रतिष्ठित ‘भिक्टोरियन मल्टिकल्चरल अवार्ड्स फर एक्सिलेन्स २०२६’ अन्तर्गत ‘बिजनेस एन्ड इम्प्लोइमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन्।
अस्ट्रेलियाको भिक्टोरिया राज्यको बहुसांस्कृतिक निकायले अक्टोबर १४ मा मेलबर्नमा आयोजना गरेको समारोहमा बुढाथोकीलाई उक्त पुरस्कार प्रदान गरिएको हो। यस सम्मानले अस्ट्रेलियामा नेपाली युवाले उद्यमशीलता, रोजगारी सिर्जना र सामाजिक योगदानमार्फत हासिल गरेको सफलतालाई उजागर गरेको छ।
सन् २०१८ मा अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अस्ट्रेलिया पुगेका बुढाथोकी हाल भिक्टोरिया राज्यको ब्यालाराटमा सञ्चालित स्वास्थ्य जनशक्ति कम्पनी ‘बेस्ट नर्सिङ एजेन्सी’का सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्।
व्यावसायिक सफलतासँगै उनी प्रवासी समुदायका विद्यार्थीलाई रोजगारीका अवसर उपलब्ध गराउन, कार्यस्थलमा आफ्ना अधिकारबारे सचेत बनाउन तथा मानसिक स्वास्थ्यसम्बन्धी जागरुकता फैलाउन सहयोग गर्दै आएका छन्।
विदेशमा अध्ययनका लागि पुगेका नेपाली युवाले मेहनत, लगनशीलता र सामाजिक उत्तरदायित्वका माध्यमबाट उल्लेखनीय सफलता हासिल गर्न सक्छन् भन्ने उदाहरण बुढाथोकीको उपलब्धिले प्रस्तुत गरेको छ। उनको यो सम्मानले अस्ट्रेलियामा रहेका नेपाली समुदायमा खुसी र गर्वको सञ्चार गरेको छ।



















