साहित्यकार सुजन कँडेलको पहिलो कृति ‘सिमली’ लोकार्पण

चितवन, असोज २९। हिमाली संचारका सम्पादक तथा साहित्यकार सुजन कँडेलद्वारा लिखित पहिलो मुक्तकसङ्ग्रह ‘सिमली’ चितवनको भरतपुरमा लोकार्पण गरिएको छ।
बडादशैँ–२०८३ को अवसरमा अक्षर समूह चितवनले आयोजना गरेको शुभकामना आदानप्रदान तथा कृति लोकार्पण कार्यक्रममा बिहीबार कँडेलको ‘सिमली’ सहित तीनवटा साहित्यिक कृति एकसाथ लोकार्पण गरिएको हो।
कार्यक्रममा अक्षर समूह चितवनका पूर्वअध्यक्ष रमेश प्रभातको गजलसङ्ग्रह ‘आँगनीमा फूल रोपेँ’, गजल मञ्च चितवनका संस्थापक अध्यक्ष किसान प्रेमीको मुक्तकसङ्ग्रह ‘पीडाको पहाड’ र धादिङका स्रष्टा सुजन कँडेलको मुक्तकसङ्ग्रह ‘सिमली’ लोकार्पण गरियो। तीनवटै कृतिको लोकार्पण भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष प्राडा नारायणप्रसाद खनालले गर्नुभएको थियो।
साहित्य र पत्रकारिता दुवै क्षेत्रमा रुचि राख्दै आउनुभएका कँडेलको ‘सिमली’ पहिलो प्रकाशित कृति हो। साहित्यिक सिर्जनामार्फत आफ्ना भाव, विचार र अनुभूतिलाई पाठकमाझ पुर्याउने उद्देश्यसहित उहाँले मुक्तकसङ्ग्रह सार्वजनिक गर्नुभएको हो।

तीनवटै कृतिका प्रकाशक क्रमशः चितवन साहित्य परिषद्, गजल मञ्च चितवन र सुन्दर स्वदेश प्रकाशन रहेका छन्।
कार्यक्रममा लोकार्पित कृतिमाथि कवि सामना पहाडले टिप्पणी प्रस्तुत गर्नुभएको थियो। त्यस अवसरमा तीनै जना कृतिकारले आफ्ना गजल तथा मुक्तक वाचन गर्दै साहित्यिक माहोललाई थप सृजनात्मक बनाउनुभएको थियो।
कार्यक्रममा चियापानसहित बडादशैँको शुभकामना आदानप्रदानसमेत गरिएको थियो।
हिमाली संचारका सम्पादकसमेत रहनुभएका साहित्यकार कँडेलको पहिलो कृति ‘सिमली’ लोकार्पण भएसँगै उहाँको साहित्यिक यात्राले नयाँ अध्याय सुरु गरेको छ। उहाँको सिर्जनात्मक यात्राको सफलताको कामना गर्दै साहित्यिक क्षेत्रबाट शुभकामना व्यक्त गरिएको छ।



















