चाडपर्व नजिकिएसँगै चिउरा कुटाउनेको घुइँचो, मिल सञ्चालकलाई भ्याइनभ्याई

रंगेली- नेपालीहरूको महान् पर्व बडादसैँ तथा तिहार नजिकिँदै जाँदा मोरङको रंगेली नगरपालिका आसपासका चिउरा कुटाउने मिलहरूमा सर्वसाधारणको घुइँचो लाग्न थालेको छ। चाडपर्वका लागि आवश्यक चिउरा तयार गर्न स्थानीयवासी बिहानैदेखि मिलमा पुगेर आफ्नो पालो कुर्न थालेका छन्।
रंगेली नगरपालिका–३ स्थित बजरङ्ग लघु उद्योगको कुटानी–पिसानी मिलमा यतिबेला चिउरा कुटाउनेको चाप बढेको छ। रंगेली, दरबेशा, रञ्जनी, निसानथानलगायत आसपासका क्षेत्रबाट सर्वसाधारण धान लिएर चिउरा कुटाउन आउने गरेका छन्।
मिल सञ्चालिका मीना खत्री साहका अनुसार मिलमा दैनिक करिब १ हजार ५०० देखि २ हजार किलोसम्म चिउरा उत्पादन हुने गरेको छ। सर्वसाधारणले व्यक्तिगत आवश्यकताअनुसार १० किलोदेखि ५० किलोसम्म धान ल्याएर चिउरा कुटाउने गरेका छन्।
चिउरा तयार गर्न धानलाई अघिल्लो दिन रातभर पानीमा भिजाइन्छ। त्यसपछि बिहान पानीबाट निकालेर मिलमा लगिन्छ। मिलमा धानलाई कराहीमा भुटेर सुक्खा बनाएपछि चिउरा बनाउने मेसिनमा हालिन्छ। यसरी तयार भएको चिउरा चाडपर्वका लागि प्रयोग गरिन्छ।
दसैँ तथा तिहारमा चिउराको विशेष महत्त्व हुने भएकाले यस समयमा यसको माग बढ्ने गरेको छ। चाडपर्वको रौनकसँगै चिउरा कुटाउने मिलहरूमा बढेको चहलपहलले स्थानीय बजारमा पनि चाडपर्वको माहोल सुरु भएको संकेत गरेको छ।


















