आज : २०२६-१०-१०, शनिबार

रङ्गेली अस्पतालमा ए पोजेटिभ बिरामीलाई एबी पोजेटिभ रगत चढाएको आफन्तको दाबी

रङ्गेली । मोरङको रङ्गेली अस्पतालमा उपचाररत एक बिरामीलाई उनको पुरानो मेडिकल रिपोर्टमा उल्लेख भएको रक्त समूहभन्दा फरक रक्त समूहको रगत चढाइएको भन्दै आफन्तले प्रश्न उठाएका छन्। रङ्गेली नगरपालिका–४, चोप्राहका ६५ वर्षीय दुर्गानन्द साहलाई ए पोजेटिभ (A+) रक्त समूहको व्यक्ति भए पनि एबी पोजेटिभ (AB+) समूहको रगत चढाइएको आफन्तको दाबी छ।

बिरामीका आफन्तका अनुसार रगतको कमी अर्थात् एनिमियाको समस्या देखिएपछि साहलाई बुधबार रङ्गेली अस्पताल ल्याइएको थियो। चिकित्सकको सल्लाहअनुसार बिहीबार दिउँसो उनलाई रगत चढाइएको थियो।

आफन्तले अस्पतालको ब्लड बैंकबाट प्राप्त रिपोर्टमा बिरामीको रक्त समूह एबी पोजेटिभ उल्लेख भएपछि सोही समूहको रगत व्यवस्था गरी चढाइएको बताएका छन्। तर, रगत चढाउने क्रममा बिरामीलाई समस्या देखिएपछि आफूहरूलाई शङ्का लागेको उनीहरूको भनाइ छ।

त्यसपछि केही वर्षअघिको पुरानो मेडिकल रिपोर्ट हेर्दा बिरामीको रक्त समूह ए पोजेटिभ उल्लेख भएको पाइएको आफन्तले बताएका छन्। पुरानो रिपोर्ट र ब्लड बैंकको नयाँ रिपोर्टमा रक्त समूह फरक देखिएपछि उनीहरूले उपचारमा संलग्न नर्स तथा चिकित्सकसँग यसबारे प्रश्न उठाएका थिए।

बिरामीका आफन्त गौरव मण्डलका अनुसार यस विषयमा चिकित्सक तथा सम्बन्धित स्वास्थ्यकर्मीसँग कुरा गर्दा पनि आफूहरूले स्पष्ट जवाफ पाउन सकेका छैनन्। घटनाबारे जानकारी गराउँदा समेत सुनुवाइ नभएको उनको गुनासो छ।

आफन्तका अनुसार रगत चढाएपछि रातिको समयमा बिरामीको रक्तचाप बढ्ने, टाउको दुख्ने र निद्रा नलाग्ने जस्ता समस्या देखिएका थिए। यद्यपि, यी लक्षण र रगत चढाउने प्रक्रियाबीच सम्बन्ध छ वा छैन भन्ने विषयमा चिकित्सकीय परीक्षणबाट पुष्टि हुन बाँकी छ।

घटनाबारे रङ्गेली अस्पतालका प्रमुख ओमप्रकाश यादव (ओपी) ले ब्लड बैंक नेपाल रेडक्रस सोसाइटी, विराटनगरको मातहतमा रहेकाले त्यसको आन्तरिक प्रक्रियाबारे अस्पताललाई प्रत्यक्ष जानकारी नहुने बताएका छन्। तर, घटनाबारे जानकारी पाएपछि बिरामीको अवस्थाका विषयमा चिकित्सकहरूसँग पटक–पटक समन्वय गरी जानकारी लिइरहेको उनले बताए।

बिरामीको रक्त समूह पहिचान गर्दा अपनाइएको प्रक्रिया, ब्लड बैंकबाट रगत जारी गर्दाको विवरण, रगत चढाउनुअघि गरिएको क्रस–म्याचिङ परीक्षण तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीको भूमिकाबारे स्पष्टता आउन आवश्यक देखिएको छ।

 

निष्पक्ष छानबिनको माग

बिरामीका आफन्तले घटनाको निष्पक्ष छानबिन गरी सम्भावित त्रुटिमा संलग्न पक्षको जिम्मेवारी स्पष्ट गर्न माग गरेका छन्। साथै, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अस्पताल प्रशासन, सम्बन्धित ब्लड बैंक र स्वास्थ्यसम्बन्धी नियामक निकायले आवश्यक कदम चाल्नुपर्ने उनीहरूको भनाइ छ।

रक्त समूहसम्बन्धी फरक विवरण देखिएको विषयलाई सामान्य रूपमा नलिई सम्बन्धित अभिलेख, परीक्षणका नतिजा र उपचार प्रक्रियाको विज्ञ टोलीबाट समीक्षा गरिनुपर्ने देखिन्छ। छानबिनबाट वास्तविक अवस्था स्पष्ट भएपछि मात्र सम्भावित लापरबाही वा प्रक्रियागत त्रुटिबारे निष्कर्ष निकाल्न सकिनेछ।