आज : २०२६-०९-२४, बिहीबार

गङ्गाजमुना गाउँपालिकाको कांग्रेस सभापतिमा भरतबहादुर ढकाल निर्विरोध निर्वाचित

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङको गङ्गाजमुना गाउँपालिकाको सभापतिमा भरतबहादुर ढकाल निर्विरोध निर्वाचित भएका छन्।

लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहेर संगठन निर्माण तथा पार्टी गतिविधिमा निरन्तर योगदान दिँदै आउनुभएका ढकाल यसपटक गाउँपालिका सभापतिको जिम्मेवारीमा निर्विरोध चयन भएका छन्।

यसअघि सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा समेत गाउँपालिका सभापति पदमा उम्मेदवारी दिनुभएका ढकाल केही मतको अन्तरले पराजित हुनुभएको थियो। त्यसबेला प्रतिस्पर्धामा रहेका ढकालले यसपटक भने सहमति र सर्वस्वीकार्यतामार्फत नेतृत्वको जिम्मेवारी प्राप्त गरे छन् ।

सभापतिमा निर्विरोध निर्वाचित भएपछि ढकालले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र एकताबद्ध बनाउँदै सबै नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

गङ्गाजमुना गाउँपालिकामा कांग्रेसको संगठनलाई थप सक्रिय बनाउने, कार्यकर्ताबीचको एकता मजबुत पार्ने तथा जनतासँगको सम्बन्धलाई अझ प्रभावकारी बनाउने चुनौती र जिम्मेवारी अब नयाँ नेतृत्वसामु रहेको छ।