आज : २०२६-०९-११, शुक्रबार

श्री संसारीमाई मन्दिरले दैनिक भेटी तथा आम्दानी सार्वजनिक गर्न थाल्यो

मोरङ । मोरङको रंगेली नगरपालिका–७ स्थित श्री संसारीमाई मन्दिरले मन्दिरमा संकलन हुने दैनिक भेटी तथा अन्य आम्दानीको विवरण सार्वजनिक गर्न थालेको छ।
हालै नगरपालिका प्रशासनिक अधिकृत प्रदीपकुमार साहसहित पाँच पदाधिकारीको नेतृत्वमा मन्दिर व्यवस्थापनले मन्दिरको आधिकारिक फेसबुक पेजमार्फत अघिल्लो दिनको आम्दानीको विवरण सार्वजनिक गर्ने व्यवस्था सुरु गरेको हो।
मन्दिर व्यवस्थापनका अनुसार सोमबार संकलन भएको भेटी तथा अन्य आम्दानीको विवरण मंगलबार सार्वजनिक गरिएको छ। अब प्रत्येक दिन अघिल्लो दिनको आम्दानी विवरण सार्वजनिक गरिने जनाइएको छ।
मन्दिरले सार्वजनिक गरेको विवरणअनुसार सोमबार भेटीबाट रु. १२ हजार ९१०, सहयोगबाट रु. ८ हजार ५२१, बजारबाट रु. १२ हजार ७५० तथा ४२ वटा बोकाको बलिबाट रु. १० हजार ५०० आम्दानी भएको छ। यसअनुसार सोमबार मन्दिरको कुल आम्दानी रु. ४४ हजार ६८१ रहेको मन्दिरको फेसबुक पेजमा उल्लेख गरिएको छ।
दैनिक रूपमा भेटी तथा आम्दानीको विवरण सार्वजनिक गर्ने अभ्यासले मन्दिरको आर्थिक कारोबारमा पारदर्शिता कायम हुनुका साथै भक्तजन तथा सर्वसाधारणमा मन्दिर व्यवस्थापनप्रति विश्वास बढ्ने अपेक्षा गरिएको छ।