आज : २०२६-०८-२७, बिहीबार

तिब्बततर्फबाट आएको बाढी–पहिरोमा गंगाजमुना गाउँपालिकाका १५ जना सम्पर्कविहीन

धादिङ — चीनको तिब्बततर्फबाट रसुवा नाका हुँदै आएको विनाशकारी बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका क्षेत्रमा जनधनको ठूलो क्षति भइरहेको बेला धादिङको गंगाजमुना गाउँपालिकाका १५ जना नागरिक सम्पर्कविहीन भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार विभिन्न कामको सिलसिलामा विपद् प्रभावित क्षेत्रमा पुगेका गाउँपालिकावासी सम्पर्कविहीन भएका हुन्। सम्पर्कविहीनमध्ये अधिकांश मानसरोवर यात्रामा रहेका छन् भने केही रोजगारी तथा अन्य कामका क्रममा प्रभावित क्षेत्रमा पुगेका थिए।

गाउँपालिकाका अनुसार सम्पर्कविहीन हुनेमा वडा नम्बर ५ का गोकर्ण थापा, विकास बस्नेत, नारायण बानियाँ, हरिचन्द्र नेपाल, राजेश तिमल्सिना र संगम रिमाल रहेका छन्। त्यस्तै वडा नम्बर ६ का गणेश न्यौपाने, वडा नम्बर ४ का काले गुरुङ (धनबहादुर गुरुङ), वडा नम्बर ३ का मेघबहादुर गुरुङ, गोमा सिंखडा, सुरेश सिंखडा, शारदा काप्री सिंखडा र बेगबहादुर गुरुङ, वडा नम्बर ७ का भगवान बरुवाल तथा वडा नम्बर १ की मुना घले तामाङ सम्पर्कविहीन रहेको गाउँपालिकाले जनाएको छ।

सम्पर्कविहीनमध्ये गोकर्ण थापा, विकास बस्नेत, नारायण बानियाँ, हरिचन्द्र नेपाल, राजेश तिमल्सिना, संगम रिमाल, गोमा सिंखडा, भगवान बरुवाल र मुना घले तामाङ मानसरोवर यात्रामा रहेको विवरणमा उल्लेख छ। मेघबहादुर गुरुङ मैलुङ हाइड्रोपावरमा कार्यरत रहेको तथा बेगबहादुर गुरुङ सशस्त्र प्रहरीमा कार्यरत रहेको जनाइएको छ।

त्यसैगरी सुरेश सिंखडा ‘शिखापत्र डटकम’का प्रकाशक रहेको र सम्पर्कविहीन गोमा सिंखडा तथा शारदा काप्री सिंखडा उहाँकी आमा तथा दिदी रहेको गाउँपालिकाको सूचनामा उल्लेख गरिएको छ।

गाउँपालिकाले विपद्को यस दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा रहेका थप गाउँवासीसमेत सम्पर्कविहीन भएको जानकारी प्राप्त भएमा तत्काल गाउँपालिकालाई सूचना उपलब्ध गराउन आग्रह गरेको छ।

गाउँपालिकाले सम्बन्धित स्थानमा थप मानिस प्रभावित भएको भए विवरण नदोहोरिने र कोही नछुट्ने गरी जानकारी गराउनसमेत अपिल गरेको छ।

तत्काल सम्पर्क गर्न अनुरोध

गंगाजमुना गाउँपालिकाले सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गर्न तथा आवश्यक विवरण संकलन गर्न आग्रह गरेको छ।

गंगाजमुना गाउँपालिकाका सम्पर्क नम्बर:
९८५११५९७१६, ९७६३६९३०६४, ९८५११८६९७८, ९८५१०८०३६०

सम्पर्कविहीन सबै नागरिक सकुशल भेटिऊन् र खोजी तथा उद्धार कार्य प्रभावकारी रूपमा अघि बढोस् भन्ने कामना गाउँपालिकाले गरेको छ।