वर्षाले तारकेश्वर–६ मा मच्चायो वितण्डा, राजकुलो आसपासको बस्ती जोखिममा

काठमाडौं । तारकेश्वर नगरपालिका–६ धर्मस्थलीस्थित पृथ्वी आदर्श टोलमा गएराति परेको अविरल वर्षाले ठूलो क्षति पुर्याएको छ। वर्षाका कारण राजकुलो आसपासको सडक तथा जमिन कटान हुँदा स्थानीयको आवतजावत प्रभावित बनेको छ भने केही घरसमेत जोखिममा परेका छन्।

राजकुलोको दायाँ–बायाँ पर्याप्त पर्खाल तथा तटबन्ध निर्माण नगरिएका कारण ठूलो पानी परेपछि पानीको बहाव अनियन्त्रित भई आसपासको सडक र जमिन कटान भएको स्थानीयको भनाइ छ। वर्षाले राजकुलोको दुवैतर्फको भागमा क्षति पुर्याएपछि सडकसमेत ठाउँ–ठाउँमा भत्किएको छ।
कटानका कारण सरी थापाको घरसमेत जोखिममा परेको स्थानीयले बताएका छन्। तत्काल संरक्षणका उपाय नअपनाए थप वर्षा हुँदा घर तथा आसपासका संरचनामा समेत गम्भीर क्षति पुग्न सक्ने अवस्था देखिएको छ।
वर्षापछि सडकको अवस्था यति जीर्ण बनेको छ कि सवारीसाधन सञ्चालनमा कठिनाइ हुनुका साथै पैदल हिँड्नसमेत स्थानीयलाई समस्या भएको छ। दैनिक आवतजावतका लागि प्रयोग हुँदै आएको सडक भत्किएपछि स्थानीयवासी थप समस्यामा परेका छन्।

स्थानीयले जोखिमपूर्ण अवस्था देखिए पनि सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्न नसकेको गुनासो गरेका छन्। उनीहरूले तारकेश्वर नगरपालिका र वडा कार्यालयले तत्काल स्थलगत अनुगमन गरी क्षतिको मूल्यांकन गर्नुपर्ने, भत्किएको सडक तथा जमिनमा पर्खाल निर्माण गर्नुपर्ने र राजकुलोको दायाँ–बायाँ आवश्यक तटबन्धसहित दीर्घकालीन समाधान खोज्नुपर्ने माग गरेका छन्।

स्थानीयका अनुसार तत्काल संरक्षणको काम अघि नबढाइए आगामी दिनमा हुने थप वर्षाले क्षति झन् बढाउन सक्ने जोखिम छ। त्यसैले जनधनको सम्भावित क्षति रोक्न वडा र नगरपालिकाले कागजी प्रक्रिया र आश्वासनमा सीमित नभई तत्कालै पुनर्निर्माण तथा संरक्षणको काम अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।


















