आज : २०२६-०८-२३, आइतबार

स्वर्गद्वारी आर्यघाटमा छानो निर्माणका लागि बलबहादुर बस्नेतद्वारा १ लाख ३१ हजार सहयोग

मोरङ । रतुवामाई नगरपालिका–९ स्थित बक्राहा गंगा स्वर्गद्वारी सेवा समाजअन्तर्गतको स्वर्गद्वारी आर्यघाटमा छानो निर्माणका लागि समाजसेवी बलबहादुर बस्नेतले १ लाख ३१ हजार रुपैयाँ सहयोग गरेका छन्।

बर्खायाममा वर्षाका कारण शवको दाहसंस्कार गर्न कठिनाइ हुने अवस्थालाई मध्यनजर गर्दै दाहसंस्कारस्थलमा टिनको छानो निर्माण गर्न बस्नेतले उक्त रकम सहयोग गरेका हुन्। छानो निर्माण भएपछि वर्षाका समयमा समेत मृतकको अन्तिम संस्कार गर्न आउने परिवारलाई सहज हुने अपेक्षा गरिएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा समाजसेवी बलबहादुर बस्नेत तथा विशिष्ट अतिथिका रूपमा स्वर्गद्वारी समाजसेवा समितिका अध्यक्ष लक्ष्मीप्रसाद चौलागाईं, उपाध्यक्ष राजकुमार कडरिया, सचिव कालीबहादुर आचार्य, कोषाध्यक्ष डम्बरकुमार लुइटेल, सदस्यहरू टीकाराम चापागाईं, मोहन प्रधान, अशोक खत्री, मोहम्मद शमशेरलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा समाजसेवी बस्नेतले सामाजिक सेवाको मुख्य उद्देश्य आवश्यक परेको ठाउँमा सहयोग पुर्‍याउनु रहेको बताए। उनले आर्यघाटमा बर्खाको समयमा दाहसंस्कार गर्न आउने परिवारले वर्षाका कारण थप समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले छानो निर्माणका लागि सहयोग गरेको बताए।

“मानिसको जीवनमा जन्म जति महत्वपूर्ण छ, मृत्यु पछिको अन्तिम संस्कार पनि त्यत्तिकै संवेदनशील विषय हो। परिवार शोकमा रहेका बेला वर्षा, घाम वा अन्य कारणले दाहसंस्कारमा थप समस्या नहोस् भन्ने उद्देश्यले आफ्नो क्षमताअनुसार सहयोग गरेको हुँ,” बस्नेतले भने।

उनले आफूले सामाजिक सेवामा सकेसम्म निरन्तर योगदान गर्दै आएको बताउँदै तत्कालको आवश्यकतासँगै दीर्घकालीन रूपमा समुदायलाई उपयोग हुने संरचना निर्माणमा सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे। “मैले गरेको सहयोग व्यक्तिगत प्रचारका लागि होइन, समाजमा आवश्यक परेको ठाउँमा उपयोग होस् भन्ने उद्देश्य हो। आज बनाएको संरचना भोलिका दिनमा धेरै परिवारका लागि उपयोगी हुन्छ भने त्यसैमा मेरो खुसी छ,” उनले भने।

बस्नेतले सामाजिक सेवामा जात, धर्म, राजनीति वा व्यक्तिगत सम्बन्धभन्दा मानवीय आवश्यकता महत्वपूर्ण हुने बताए।

समितिका अध्यक्ष लक्ष्मीप्रसाद चौलागाईंले बर्खायाममा आर्यघाटमा दाहसंस्कार गर्न निकै समस्या हुने गरेको बताए। आर्यघाटमा छानो नहुँदा वर्षाका समयमा शवको अन्तिम संस्कार गर्न आउने परिवारले कठिनाइ भोग्दै आएको उनको भनाइ थियो।

“परिवारमा मृत्युको पीडा आफैँमा ठूलो हुन्छ। त्यसमाथि पानी परेको समयमा दाहसंस्कार गर्नुपर्ने अवस्था आउँदा झनै कठिन हुने गरेको थियो। अब छानो निर्माण भएपछि वर्षाका बेला दाहसंस्कार गर्न आउने परिवारलाई धेरै सहज हुनेछ,” अध्यक्ष चौलागाईंले बताए।

बक्राहा गंगा स्वर्गद्वारी सेवा समाजले नदी तथा वातावरण संरक्षणसँगै सामाजिक सेवाका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।