आदर्श माध्यमिक विद्यालयका विद्यार्थीलाई ४ लाख ८५ हजार रुपैयाँ बराबरको ट्र्याकसुट वितरण

रङ्गेली श्याम फुलुमाया फाउन्डेसन तथा श्याम फुलुमाया हस्तकला उद्योगले रङ्गेली नगरपालिका–७ स्थित श्री आदर्श माध्यमिक विद्यालयका विद्यार्थीलाई ४ लाख ८५ हजार रुपैयाँ बराबरको ४८५ थान ट्र्याकसुट वितरण गरेको छ।
विद्यार्थीको शैक्षिक हित तथा समानताको भावना प्रवर्द्धन गर्ने उद्देश्यले प्रदान गरिएको ट्र्याकसुटबाट विशेषगरी विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई विद्यालय पोसाक व्यवस्थापनमा राहत पुग्ने विद्यालयले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि रङ्गेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले शिक्षा क्षेत्रमा निजी क्षेत्र तथा सामाजिक संस्थाबाट हुने सहयोगले सरकारी प्रयासलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। विद्यार्थीको आवश्यकता पहिचान गरी गरिएको यस्तो सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधारसँगै विद्यार्थीमा आत्मविश्वास बढाउनसमेत सहयोग पुग्ने उनको भनाइ थियो।
त्यस्तै, नगर शिक्षा अधिकृत लीला ओझाले शिक्षामा गरिएको लगानी समाज परिवर्तनको आधार भएको बताउँदै विद्यार्थीलाई लक्षित गरी गरिएको सहयोग प्रशंसनीय रहेको बताइन्। यस्ता सहयोगले विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई नियमित अध्ययनका लागि थप हौसला मिल्ने उनको धारणा थियो।
फाउन्डेसनका सल्लाहकार राजन दाहालले श्याम फुलुमाया फाउन्डेसनको उद्देश्य सहयोग वितरणमा मात्र सीमित नरहेको बताए। शिक्षा, स्वास्थ्य, रोजगारी तथा मानवीय सेवामार्फत समुदायको जीवनस्तर सुधार गर्ने दीर्घकालीन अभियानका रूपमा संस्था अघि बढिरहेको उनले बताए। विद्यार्थीको अनुहारमा देखिने खुसी नै संस्थाको सहयोगको सबैभन्दा ठूलो उपलब्धि भएको दाहालको भनाइ थियो।
विद्यालयका प्रधानाध्यापक विश्वरसिंह मेवाङ्गले विद्यार्थीका लागि ४८५ थान ट्र्याकसुट प्राप्त हुनु विद्यालयका लागि महत्वपूर्ण सहयोग भएको बताए। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विद्यालय पोसाक व्यवस्थापनमा सहज हुने तथा यसबाट विद्यार्थीमा समानताको भावना विकास गर्न सहयोग पुग्ने उनले बताए। विद्यालयको शैक्षिक विकासमा सामाजिक संस्थाहरूको सहयोग निरन्तर आवश्यक रहेको प्रधानाध्यापक मेवाङ्गले उल्लेख गरे।
कार्यक्रममा रङ्गेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साह प्रमुख अतिथि, नगर शिक्षा अधिकृत लीला ओझा तथा श्याम फुलुमाया फाउन्डेसनकी अध्यक्ष शोभा मगर विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष वीरेन्द्र मण्डल, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।
सो अवसरमा विद्यालय तथा रङ्गेली नगरपालिकाको तर्फबाट श्याम फुलुमाया फाउन्डेसन तथा सहयोगदाता श्याम सार्की मङ्गराती र फुलुमाया सार्की मङ्गरातीलाई सम्मानपत्र प्रदान गरिएको थियो।
श्याम फुलुमाया फाउन्डेसनले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा सामाजिक सेवाका क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ। फाउन्डेसनसँग आबद्ध श्याम फुलुमाया हस्तकला उद्योगले स्थानीय सीप, श्रम तथा कच्चा पदार्थको प्रयोग गरी विभिन्न सामग्री उत्पादन गर्दै आएको र उद्योगबाट प्राप्त आम्दानीलाई सामाजिक सेवामा समेत परिचालन गर्ने उद्देश्य रहेको संस्थाले जनाएको छ।



















