आज : २०२६-०७-११, शनिबार

आरेन राईमाथिको दुर्व्यवहारप्रति श्रम संस्कृति पार्टी मकवानपुरको आपत्ति, निष्पक्ष छानबिनको माग

हेटौंडा– श्रम संस्कृति पार्टी, मकवानपुर जिल्ला कार्यसमितिले पार्टीका महासचिव तथा माननीय आरेन राईमाथि माईतीघरमा भएको भनिएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शुक्रबार जारी गरिएको प्रेस विज्ञप्तिमा गणेश नेपालीको न्यायको पक्षमा आफ्नो धारणा व्यक्त गरेकै कारण एक निर्वाचित जनप्रतिनिधिमाथि गरिएको भनिएको दुर्व्यवहार, अपमान तथा अवरोध लोकतान्त्रिक मूल्य–मान्यता, अभिव्यक्ति स्वतन्त्रता र कानुनी शासनमाथिको गम्भीर चुनौती भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा विचारसँग असहमति हुन सक्ने भए पनि त्यसको प्रतिवाद हिंसा, दुर्व्यवहार वा अपमानबाट नभई सभ्य, शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट हुनुपर्ने धारणा व्यक्त गरिएको छ।

विज्ञप्तिमा उक्त घटनाले कानुनी निष्पक्षता र राज्यको जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै नेपालमा कानुन सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिइएको छ। साथै सार्वजनिक रूपमा कानुनविपरीत गतिविधि वा अभिव्यक्ति देखिँदा राज्यको भूमिका के थियो र निर्वाचित जनप्रतिनिधिमाथि खुलेआम दुर्व्यवहार भएको भनिएको अवस्थामा सम्बन्धित निकाय किन प्रभावकारी रूपमा प्रस्तुत हुन सकेन भन्ने प्रश्न पनि उठाइएको छ।

त्यसैगरी, गणेश नेपालीको मृत्युसँग सम्बन्धित घटनाको निष्पक्ष छानबिन, सत्यतथ्य सार्वजनिक तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्न पार्टीले माग गरेको छ। घटनासँग सम्बन्धित सबै पक्षको भूमिकाको निष्पक्ष अनुसन्धान हुनुपर्ने र कसैलाई पनि कानुनभन्दा माथि राख्न नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ।

श्रम संस्कृति पार्टी, मकवानपुर जिल्ला कार्यसमितिले माननीय आरेन राईमाथि दुर्व्यवहार गरेको भनिएका व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन, घटनाको निष्पक्ष अनुसन्धान गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न नेपाल सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ।