आज : २०२६-०७-०९, बिहीबार

व्यवहारिक सिकाइका लागि पार्वती माध्यमिक विद्यालयमा विभिन्न प्रजातिका फूलका बिरुवा रोपियो

मोरङ, रंगेली।-मोरङको रंगेली नगरपालिका–९ स्थित पार्वती माध्यमिक विद्यालय परिसरमा विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएका छन्।

विद्यालयलाई हराभरा, स्वच्छ तथा आकर्षक बनाउने उद्देश्यका साथ आयोजित वृक्षारोपण कार्यक्रममा प्रधानाध्यापक, शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालय परिसरमा विभिन्न प्रजातिका फूलका बिरुवा रोप्दै वातावरण संरक्षणप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।

विद्यालयका प्रधानाध्यापक डाक्टर ओमप्रकाश राजवंशीले पाठ्यपुस्तकमा उल्लेख भएका विभिन्न प्रजातिका बिरुवाबारे विद्यार्थीलाई व्यवहारिक रूपमा सिकाउन वृक्षारोपण गरिएको बताए।

उनका अनुसार पुस्तकमा सीमित ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्दै विद्यार्थीलाई बिरुवाको पहिचान, संरक्षण, हेरचाह तथा वातावरणप्रतिको जिम्मेवारीबारे प्रत्यक्ष अनुभव गराउने उद्देश्य रहेको छ। साथै, रोपिएका बिरुवाको नियमित हेरचाहमा पनि विद्यार्थीहरूलाई सक्रिय रूपमा सहभागी गराइने योजना रहेको उनले जानकारी दिए।

प्रधानाध्यापक राजवंशीले यस्ता गतिविधिले विद्यार्थीमा वातावरण संरक्षण, प्रकृतिप्रेम, जिम्मेवारीबोध तथा सामूहिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

विद्यालयले आगामी दिनमा पनि वातावरण संरक्षण र व्यवहारिक शिक्षालाई जोड दिने यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।