आज : २०२६-०७-०९, बिहीबार

प्रियङ्काको पढाइमा सद्भाव बचतकाे प्रतिबद्धता

मोरङ- रंगेली नगरपालिका–६, गोडी टोलमा रहेको एउटा सानो टिनको घरमा बस्ने बहरदार परिवारको जीवन गरिब अवस्थामा संघर्ष गरिरहेकाे छ । बिगत ४ बर्ष अगाडि बुवाको काख गुमाएका चार परिवार निकै संधर्ष गरेर आफ्नो चार परिवार पालनपोषण लागि परेका छन । बुबा बितेकाे ४ वर्ष बित्याे तर आज पनि हरेक बिहान विद्यालय जानुअघि प्रियङ्का कुमारी बहरदारको मनमा एउटै प्रश्न आउँछ यदि बुवा हुनुहुन्थ्यो भने हाम्रो जीवन यति कठिन हुन्थ्यो र? चार वर्षअघि परिवारका अभिभावककाे रुपमा रहेका चन्द्रिका बहरदारको असामयिक निधन भएपछि श्रीमती कुन्ती देवी बहरदारमाथि तीन सन्तानको पालनपोषण र शिक्षाको सम्पूर्ण जिम्मेवारी उनको काँधमा एक्लै आइपर्‍यो।
दैनिक ज्यालामजदुरी गरेर परिवार धानिरहेकी कुन्ती देवीका लागि दुई छाक खाना जुटाउनु नै कठिन बन्दै गयो। त्यसको सबैभन्दा ठूलो मूल्य चुकाइन् उनकी जेठी छोरी रेनु बहरदार कक्षा ६ मा अध्ययनरत रेनुले आफ्ना सपना र किताबहरू बीचैमा छाड्नुपर्‍यो। पढ्ने रहर हुँदाहुँदै विद्यालय छोडेर उनी आमासँगै मजदुरी गर्न निस्किन्, ताकि भाइबहिनीको पढाइ रोकिन नपरोस् भनेर आज रेनुका हातमा किताब होइन, मजदुरीका औजार छन्। आफ्ना अधुरा सपनाभन्दा उनलाई भाइ कन्याहा र बहिनी प्रियङ्काको भविष्य ठूलो लाग्छ। कन्याहा बहरदार अहिले कक्षा ९ मा अध्ययनरत छन् भने प्रियङ्का पब्लिक उच्च माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययन गरिरहेकी छन्। प्रियङ्काको अनुहारमा मुस्कान देखिए पनि उनको जीवनको कथा आँसु लुकाएर बाँच्न सिकेको बालिकाको यथार्थ हो। गरिबीले उनका सपनालाई पनि निल्ने पो हो कि भन्ने चिन्ता परिवारलाई सधैं सताइरहेको थियो। अहिले उनकाे घरमा दाजु र बहिनी बसाेवास गर्दे गर्दै आईरहेका छन ।
#प्रियंकाकाे संधर्ष ।।
अरू बालबालिका बिहान विद्यालय जाने तयारीमा व्यस्त हुन्छन्। तर १२ वर्षीया प्रियङ्का कुमारी बहरदारको दिन भने चुलोमा आगो बालेर सुरु हुन्छ।
कक्षा ५ मा अध्ययनरत प्रियङ्का बिहान सबेरै उठ्छिन्। घर सफा गर्छिन्, पानी ल्याउँछिन्, दाजुका लागि खाना पकाउँछिन्, भाँडा माझ्छिन् र घरका सबै काम सकेपछि मात्रै विद्यालयको पोसाक लगाएर किताब बोकी विद्यालयतर्फ लाग्छिन्। विद्यालयमा उनी एक मेहनती र जेहेन्दार छात्राका रूपमा चिनिन्छिन्। तर उनको मुस्कानभित्र लुकेको संघर्ष धेरैलाई थाहा छैन। चार वर्षअघि बुवा चन्द्रिका बहरदारको निधन भएपछि यो परिवारको आधार नै भत्कियो। आमा कुन्ती देवी बहरदार र जेठी छोरी रेनु बहरदार सुनसरी जिल्लामा बसाेवास गरेर मजदुरी गरिरहेकाे प्रियंकाले सुनाईन । उनी भन्छिन घरमा म र दाजु मात्रै बस्दछाै त्यसैले घरको सम्पूर्ण जिम्मेवारी पनि प्रियङ्काकै काँधमा आएकाे छ। विद्यालयबाट घर फर्किएपछि प्रियङ्काले आराम गर्ने समय पाउँदिनन्। फेरि खाना पकाउने, घरको सरसफाइ गर्ने र घरायसी काम गर्ने र त्यसपछि मात्र बत्तीको मधुरो उज्यालोमा किताब खोल्ने उनको दैनिकी हो। थकानले आँखा झिम्किए पनि उनको सपना भने निदाउँदैन। उनी भन्छिन्, “म धेरै पढ्न चाहन्छु। राम्रो मान्छे बनेर आमाको दुःख कम गर्न चाहन्छु । बिधालयमा उक्त बालिकाको बिषयमा जानकारी पाएपछि रंगेलीमा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले उनलाई विद्यालयमा पुगेर झोला, कापी तथा आवश्यक शैक्षिक सामग्री प्रदान गरेको छ। संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरले भने, प्रियंका जस्ता मेहनती बालबालिकालाई गरिबीका कारण पढाइबाट वञ्चित हुन दिनु हुँदैन। उनले अध्ययनलाई निरन्तरता दिए हाम्रो संस्थाले कक्षा १० सम्म आवश्यक शैक्षिक सहयोग गर्दे जाने ठाकुरले बताए । विद्यालयका प्रधानाध्यापक अरविन्द कुमार साहका अनुसार प्रियंका अत्यन्त अनुशासित, लगनशील र अध्ययनप्रति समर्पित विद्यार्थी हुन् उनको संघर्षले हामी सबैलाई भावुक बनाउँछ। यस्ता विद्यार्थीलाई समाजले साथ दिन सके उनीहरू भविष्यमा सफल बन्न सक्छने उनलेे बताए ।