आज : २०२६-०७-०९, बिहीबार

रंगेलीमा ३५० घण्टे आधारभूत सिलाई–कटाई तालिम सम्पन्न, महिलाले मागे उन्नत तालिम र निःशुल्क सिलाई मेसिन

रंगेली-महिलालाई सीपयुक्त, आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यका साथ रंगेली नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको ३५० घण्टे पहिलो चरणको आधारभूत सिलाई–कटाई तालिम सम्पन्न भएको छ।

मनकामना स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर, सुन्दरहरैंचाको आयोजनामा सञ्चालित उक्त तालिममा २० जना महिलाको सहभागिता रहेको थियो। तालिमले सहभागी महिलाहरूलाई आधारभूत सिलाई–कटाई सीप प्रदान गर्दै स्वरोजगारतर्फ प्रेरित गरेको आयोजकले जनाएको छ।

समापन कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष सुजित मण्डल, मनकामना स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टरकी संस्थापक अध्यक्ष कमला न्यौपाने, प्रशिक्षक रेखा साह, वडा सदस्य सरस्वती बहरदार, प्रशिक्षक आस्था साहलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष सुजित मण्डलले महिलाको आर्थिक सशक्तीकरणका लागि यस्ता सीपमूलक तालिम प्रभावकारी हुने बताए। सहभागीहरूको मागलाई ध्यानमा राख्दै आगामी दिनमा थप तीन महिनाको उन्नत सिलाई–कटाई तालिम सञ्चालन गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आधारभूत तालिम मात्र पर्याप्त नहुने भएकाले व्यावसायिक दक्षता हासिल गर्न थप अभ्यास र उन्नत तालिम आवश्यक रहेको बताए। त्यसका लागि वडा कार्यालयबाट आवश्यक समन्वय र पहल गरिने उनले जानकारी दिए।

मनकामना स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टरकी संस्थापक अध्यक्ष कमला न्यौपानेले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारेर गाउँमै बसेर आयआर्जन गर्न सहभागीहरूलाई आग्रह गरिन्। “प्रमाणपत्रभन्दा पनि सीपको प्रयोग महत्त्वपूर्ण हुन्छ। निरन्तर अभ्यास गर्न सके महिलाहरू आत्मनिर्भर बन्न सक्छन्,” उनले भनिन्।

प्रशिक्षक रेखा साहले सहभागीहरूले छोटो अवधिमै आधारभूत सिलाई–कटाईको सीप राम्रोसँग सिकेको बताउँदै नियमित अभ्यास र थप तालिममार्फत उनीहरू व्यावसायिक रूपमा सक्षम बन्न सक्ने विश्वास व्यक्त गरिन्।

सहभागी महिलाहरूले आधारभूत तालिमले आत्मविश्वास बढाएको बताए पनि व्यावसायिक रूपमा सक्षम हुन थप तीन महिनाको उन्नत तालिम आवश्यक रहेको धारणा राखे। साथै, तालिमपछि निःशुल्क सिलाई मेसिन उपलब्ध गराइदिन नगरपालिकासँग आग्रह गरेका छन्। उनीहरूका अनुसार सिलाई मेसिन प्राप्त भए घरमै बसेर व्यवसाय सञ्चालन गर्न सहज हुने, आम्दानी वृद्धि हुने र परिवारको आर्थिक अवस्था सुधार्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।