आज : २०२६-०७-०५, आइतबार

धादिङमा छोराको हातबाट बाबुको हत्या, मानसिक स्वास्थ्यलाई बेवास्ता गर्दा बढ्दै जोखिम

धादिङ –  धादिङ जिल्लाको गंगाजमुना गाउँपालिका–४ मा आफ्नै छोराले धारिलो हतियार प्रहार गरी बाबुको हत्या गरेको घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ।

घटनामा संलग्न व्यक्तिलाई लामो समयदेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको स्थानीयको दाबी छ। स्थानीयका अनुसार उनले विगतमा पनि असामान्य व्यवहार देखाउने गरेको, बाख्रा चोरी गर्ने, काटेर खाने तथा बालबालिकामाथि ढुंगा प्रहार गर्न खोज्ने जस्ता गतिविधि गरेको बताइन्छ। यद्यपि, यी दाबीहरू सम्बन्धित निकायबाट औपचारिक रूपमा पुष्टि हुन बाँकी छ।

घटनापछि मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको समयमै पहिचान, उपचार, नियमित निगरानी तथा आवश्यक सहयोगको व्यवस्थापन प्रभावकारी हुनुपर्ने विषयमा स्थानीयले गम्भीर चासो व्यक्त गरेका छन्। परिवार, समुदाय, स्वास्थ्य संस्था र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय हुन नसके यस्ता दुःखद घटना दोहोरिन सक्ने उनीहरूको भनाइ छ।

स्थानीयवासीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मानसिक स्वास्थ्य समस्यालाई बेवास्ता नगरी समयमै उपचार, परामर्श र आवश्यक सहयोगको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ