आज : २०२६-०६-२६, शुक्रबार

रंगेली नगरपालिकाले ल्यायो ८१ करोडको बजेटः शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

मोरङ – रंगेली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८१ करोड ३३ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। १४ औँ नगरसभाबाट उक्त बजेट सर्वसम्मत रूपमा पारित गरिएको हो।

कार्यबाहक नगर प्रमुखसमेत रहनुभएकी नगरसभा अध्यक्ष भूमा पराजुलीले वडा नं. ९ का वडाध्यक्ष चुडामणि रेग्मीलाई आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न अनुमति दिनुभएको थियो। निवर्तमान नगर प्रमुख दिलिप बगडियाको विशेष आतिथ्यतामा सम्पन्न नगरसभामा वडाध्यक्ष रेग्मीले आय–व्यय विवरण प्रस्तुत गर्नुभएको हो।

प्रस्तुत बजेटअनुसार कुल विनियोजनमध्ये ६७ प्रतिशत रकम चालु खर्चतर्फ तथा ३३ प्रतिशत रकम पूँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। नगरपालिकाले विगतमा सञ्चालनमा रहेका बहुवर्षीय योजनालाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ।

नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि व्यापक छलफल भएपछि सर्वसम्मत रूपमा पारित गरिएको थियो। त्यसपछि सभाध्यक्ष पराजुलीले आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट पारित भएको घोषणा गर्नुभयो।

नगरसभाको अवसरमा सेवा निवृत्त शिक्षक तथा शिक्षिकाहरूलाई सम्मानसमेत गरिएको थियो। रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले आगामी बजेटले विशेषगरी पूर्वाधार विकास, स्वास्थ्य सेवा विस्तार र शैक्षिक गुणस्तर सुधारलाई केन्द्रमा राखेको बताउनुभयो।

गत आर्थिक वर्ष २०८२/०८३ का लागि नगरपालिकाले ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। यस वर्षको बजेट अघिल्लो वर्षको तुलनामा केही घटे पनि विकास निर्माण तथा जनमुखी कार्यक्रमलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।