आज : २०२६-०६-२५, बिहीबार

दुर्घटनापछि कलाकार बुद्धबिर सिङजागुको निधन, कला–संस्कृति क्षेत्रमा शोक

धरान–धनकुटा सडकखण्ड अन्तर्गत ड्रिमल्याण्ड होटल नजिक मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका कलाकार तथा लिम्बु संस्कृति संरक्षण अभियानका सक्रिय अभियन्ता बुद्धबिर सिङजागुको उपचारका क्रममा निधन भएको छ।

तेह्रथुमको म्याङ्लुङ नगरपालिका–६ निवासी सिङजागु विपरीत दिशाबाट आएको मोटरसाइकलसँग ठोक्किँदा गम्भीर घाइते हुनुभएको थियो। उपचारका क्रममा उहाँको निधन भएको खबर सार्वजनिक भएसँगै तेह्रथुम जिल्ला, लिम्बु समुदाय तथा कला–संस्कृति क्षेत्र शोकमा डुबेको छ।

स्वर्गीय सिङजागु “लिम्बु संस्कृति परिषद्” तेह्रथुम जिल्लाका सचिव, लाजङ फोर्सका सहयोद्धा तथा सामाजिक–सांस्कृतिक अभियानमा सक्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँले भाषा, कला, संस्कृति, पहिचान तथा समुदायको उत्थानका लागि महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो।

उहाँको सरल स्वभाव, मिलनसार व्यक्तित्व, समाजप्रतिको निस्वार्थ समर्पण र संघर्षशील सोचका कारण समुदायमा विशेष सम्मान प्राप्त थियो। उहाँको निधनले परिवार मात्र नभई सम्पूर्ण कला–संस्कृति क्षेत्र, सामाजिक अभियन्ता तथा शुभेच्छुकहरूलाई अपूरणीय क्षति पुगेको बताइएको छ।

यसैबीच दुर्घटनाको वास्तविक कारणबारे निष्पक्ष र तथ्यपरक छानबिन गर्न स्थानीयवासी तथा शुभेच्छुकहरूले सम्बन्धित निकायसँग माग गरेका छन्। घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषी देखिए कानुनअनुसार कारबाही गरिनुपर्ने र भविष्यमा यस्ता दुर्घटना रोक्न आवश्यक सुधारका कदम चालिनुपर्ने उनीहरूको भनाइ छ।

स्वर्गीय बुद्धबिर सिङजागुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न संघसंस्था तथा व्यक्तित्वहरूले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उहाँको आत्माले चिरशान्ति प्राप्त गरोस् भन्ने कामना गरिएको छ।