आज : २०२६-०६-२४, बुधबार

रंगेलीमा विपद्काे बिषयमा तालिम सुरु

मोरङ –  मोरङको रंगेली ४ स्थित वडा कार्यालयकाे भवनमा विपद् कार्यमा खटिने स्वयंसेवक समूह निर्माण सम्बन्धी तालिम तथा सचेतनामूलक कक्षा सञ्चालन सुरु भएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीको आयोजनामा तथा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सञ्चालन भएको थियोे । तालिम असार ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने जनाइएको छ।
तालिम तथा सचेतनामूलक कार्यक्रमको उद्घाटन रंगेली नगर कार्यपालिकाकी कार्यवाहक नगर प्रमुख भुमा पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार साह, वडा नं. ४ का वडा अध्यक्ष अवधेश कुमार मण्डल, सशस्त्र प्रहरी बल नेपाल बीओपी रंगेलीका बीओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्तोष प्रसाद देवकोटा लगायत प्रशिक्षक तथा सरोकारवाला हरूको उपस्थिति रहेको थियो। तालिममा रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिका तथा धनपालथान गाउँपालिकाका नगर प्रहरी र स्थानीय नागरिक गरी २० जना प्रशिक्षार्थी सहभागी छन्। सहभागीमध्ये १५ जना नगर प्रहरी र ५ जना स्थानीय नागरिक रहेका छन्। तालिम सञ्चालनका लागि ५ जना प्रशिक्षक खटाइएको छ। उद्घाटन कार्यक्रममा वक्ताहरूले विपद्का बेला पहिलो उद्धारकर्ता प्रायः स्थानीय समुदाय नै हुने भएकाले समुदायस्तरमा दक्ष जनशक्ति तयार गर्नु आवश्यक रहेको बताए। उनीहरूले विपद् व्यवस्थापनमा सरकारी निकायसँगै स्थानीय नागरिकको सक्रिय सहभागिता भएमा जनधनको क्षति न्यूनीकरण गर्न सकिने धारणा राखे। तालिम अवधिमा विपद् पूर्वतयारी, प्राथमिक उद्धार, खोज तथा बचाउ, जोखिम न्यूनीकरण, सुरक्षित स्थानान्तरण, आपत्कालीन समन्वय तथा विपद्पछिको व्यवस्थापन सम्बन्धी विषयमा प्रशिक्षण दिइने जनाइएको छ। विशेष गरेर तराई भौगोलिक रूपमा बाढी, डुबान, हावाहुरी, चट्याङ, आगलागी तथा भूकम्पजस्ता विपद्को उच्च जोखिममा रहेको स्थान हाे। विशेषगरी मोरङ जिल्लाका रंगेली, सुनवर्षी, रतुवामाई तथा धनपालथान क्षेत्र वर्षायाममा बाढी र डुबानबाट प्रभावित हुने गरेका छन्। उद्घाटन कार्यक्रममा नगर प्रमुख भुमा पराजुलीले विपद् जुनसुकै बेला आउन सक्ने भएकाले त्यसको सामना गर्न स्थानीय स्तरमै दक्ष जनशक्ति तयार हुनु आवश्यक रहेको बताइन्।

उनले यस्ता तालिमले समुदायमा आत्मविश्वास बढाउनुका साथै विपद्का बेला हुने क्षति न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार साहले विपद् व्यवस्थापन केवल सरकारी निकायको जिम्मेवारी मात्र नभई सामूहिक दायित्व भएको उल्लेख गर्दै स्थानीय नागरिक र नगर प्रहरीको सक्रिय सहभागिताले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने बताए।

सशस्त्र प्रहरी निरीक्षक सन्तोष प्रसाद देवकोटाले नेपालका अधिकांश विपद् प्रभावित क्षेत्रमा प्रारम्भिक उद्धार स्थानीयवासीले नै गर्ने भएकाले उनीहरूलाई आवश्यक ज्ञान, सीप र व्यवहारिक अभ्यास प्रदान गर्न तालिम आयोजना गरिएको जानकारी दिए। तालिममा सहभागी नगर प्रहरीहरूले विपद् व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान प्राप्त गर्ने अवसर मिलेको बताएका छन्। उनीहरूका अनुसार बाढी, डुबान, आगलागी तथा अन्य आकस्मिक घटनामा तत्काल कसरी प्रतिक्रिया दिने, घाइतेको उद्धार गर्ने र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयमा सिक्न पाउनु महत्वपूर्ण उपलब्धि हो। स्थानीय सहभागीहरूले पनि यस्ता तालिम समुदायस्तरमा नियमित हुनुपर्ने धारणा राखेका छन्। “विपद् आउँदा सबैभन्दा पहिले हामी नै प्रभावित हुन्छौं। त्यसैले उद्धार र सुरक्षाका आधारभूत सीप प्रत्येक नागरिकले जान्न आवश्यक छ,” एक सहभागीले बताए।
यस्ता अवस्थामा उद्धार टोली पुग्नुअघि स्थानीय स्तरमै प्रारम्भिक प्रतिकार्य गर्न सक्ने जनशक्ति हुनु अत्यन्त आवश्यक मानिन्छ। यस दृष्टिकोणले हेर्दा समुदायस्तरमा स्वयंसेवक समूह निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको यो तालिम समयानुकूल र व्यवहारिक देखिन्छ। नगर प्रहरी तथा स्थानीय नागरिकलाई एउटै तालिममा सहभागी गराइनुले विपद्का बेला सरकारी संयन्त्र र समुदायबीच समन्वय अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
विपद् व्यवस्थापनका विज्ञहरूका अनुसार विपद् आएपछि मात्र उद्धारको तयारी गर्नेभन्दा विपद् आउनुअघि नै सचेतना, अभ्यास र दक्ष जनशक्ति तयार गर्नु बढी प्रभावकारी उपाय हो। त्यसैले यस्ता तालिमहरू नियमित रूपमा सञ्चालन गर्न सके स्थानीय तहको विपद् प्रतिकार्य क्षमता थप सुदृढ बन्ने विश्वास गरिएको छ।
सशस्त्र प्रहरी बल र प्रदेश सरकारको सहकार्यमा सञ्चालन भएको यो कार्यक्रमले स्थानीय तहमा विपद् व्यवस्थापन संस्कृतिको विकास गर्नुका साथै भविष्यमा समुदाय स्वयंले जोखिम न्यूनीकरणमा नेतृत्वदायी भूमिका खेल्न सक्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ।