लक्ष्मी सनराइज बैंकद्वारा जनता आधारभूत विद्यालयलाई कम्प्युटर सहयोग

मोरङ– सुनवर्षी नगरपालिका–५ स्थित श्री जनता आधारभूत विद्यालय, नवाबगञ्जमा कम्प्युटर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत लक्ष्मी सनराइज बैंक लिमिटेड, रंगेली शाखाले विद्यालयलाई एक थान कम्प्युटर हस्तान्तरण गरेको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ५ का अध्यक्ष युगेश्वर प्रसाद ठाकुरले शिक्षा क्षेत्रको विकास नै समाजको समग्र विकासको आधार भएको उल्लेख गरे। विद्यालयको भौतिक तथा प्राविधिक पूर्वाधार सुदृढ बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै उनले विद्यालय समुदायको साझा सम्पत्ति भएकाले यसको संरक्षण, व्यवस्थापन र विकासमा स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राखे। साथै, आगामी दिनमा पनि शिक्षा क्षेत्रको विकासका लागि आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
विद्यालयका प्रधानाध्यापक वीरेन्द्र प्रसाद साहले कम्प्युटर सहयोगले विद्यालयको शैक्षिक वातावरण थप व्यवस्थित, आकर्षक तथा प्रविधिमैत्री बन्ने विश्वास व्यक्त गरे। उनले गुणस्तरीय शिक्षाका लागि आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको उल्लेख गर्दै प्राप्त कम्प्युटरले विद्यार्थीहरूको सूचना तथा प्रविधिसम्बन्धी ज्ञान अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
स्थानीय समाजसेवी कमलेश्वर ठाकुरले विद्यालयको समग्र विकासमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहने बताउँदै यस्ता सहयोगमूलक कार्यक्रमले विद्यालयको शैक्षिक तथा भौतिक वातावरण सुधार गर्न सहयोग पुग्ने धारणा राखे। उनले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि सबै सरोकारवाला पक्ष एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए।
विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले विद्यालयमा भौतिक संरचनासँगै सूचना प्रविधिको पहुँच विस्तार हुनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै प्राप्त सहयोगको सदुपयोग गरी विद्यालयको शैक्षिक गुणस्तर थप उकास्न प्रतिबद्ध रहने बताए।
कार्यक्रममा लक्ष्मी सनराइज बैंक रंगेली शाखाका प्रमुख प्रमोदहरि पोखरेल, सुमन कटुवाल, समाजसेवी कमलेश्वर ठाकुर, प्रदीपकुमार यादव, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय समाजसेवी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।



















