आज : २०२६-०८-०७, शुक्रबार

एक वर्ष नबित्दै सडक भासियो, ठेकेदारलाई पुनः निर्माण गर्न नगरपालिकाको निर्देशन

रंगेली,  मोरङको रंगेली नगरपालिकाले निर्माण गरेको रंगेली–१ स्थित त्रिभुवन माध्यमिक विद्यालयदेखि बेलबारी सिमानासम्मको करिब चार किलोमिटर सडक निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै विभिन्न स्थानमा भासिन र बिग्रिन थालेपछि नगरपालिकाले ठेकेदार कम्पनीलाई पुनः मर्मत तथा निर्माण कार्य गर्न निर्देशन दिएको छ।

नगरपालिकाभित्र निर्माण गरिएका ३८ किलोमिटर सडकअन्तर्गत उक्त सडकलाई महत्वपूर्ण योजनाका रूपमा लिइएको थियो। तर निर्माण सम्पन्न भएको छोटो समयमै सडकका विभिन्न भागमा खाल्डाखुल्डी देखिन थालेका छन् भने कतिपय स्थानमा कालोपत्रे उप्किन थालेको छ। यसले निर्माणको गुणस्तरमाथि स्थानीयवासीले प्रश्न उठाएका छन्।

स्थानीयका अनुसार उक्त सडक हुँदै दैनिक सयौंको संख्यामा टिपर तथा अन्य सवारीसाधन आवतजावत गर्ने गरेका छन्। “एक वर्षमै सडक यस्तो अवस्थामा पुग्नु दुःखद हो,” एक स्थानीयले भने, “सम्बन्धित निकायले सडकको गुणस्तर परीक्षण गरी तत्काल मर्मत तथा सुधारका काम अघि बढाउनुपर्छ।”

समयमै मर्मत नगरिए आगामी वर्षायाममा सडक थप जोखिमपूर्ण बन्ने र सर्वसाधारणले आवतजावतमा सास्ती खेप्नुपर्ने अवस्था आउने स्थानीयको भनाइ छ।

सडकको वर्तमान अवस्थाबारे जानकारी दिँदै रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले सडकको मुख्य पिचमा समस्या नभएको दाबी गरे। उनका अनुसार नहरको डिल क्षेत्र भएकाले पानीको सिपेज (चुहावट) का कारण भित्री भागको जमिन दबिँदा सडक भासिएको हो।

“यो रोड क्र्याक भएको होइन, जमिन दबिएर सडक केही स्थानमा भासिएको हो,” उनले भने। विगत एक सातादेखि इन्जिनियर तथा प्राविधिकहरूको टोलीले प्रभावित क्षेत्रको निरन्तर अध्ययन गरिरहेको समेत उनले जानकारी दिए।

अधिकृत साहका अनुसार सडकको नहरतर्फ र पश्चिम दिशामा पानी जमेर पोखरी जस्तो बनेकाले जग कमजोर भएको देखिएको छ। त्यसैले पानीको उचित निकासको व्यवस्था गर्न तथा जमेको पानी हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिइसकिएको उनले बताए।

सडक बिग्रनुको अर्को प्रमुख कारण अत्यधिक भार भएका २० देखि २५ टनसम्मका हेभी टिपरको नियमित आवतजावत रहेको निष्कर्ष निकालिएको नगरपालिकाले जनाएको छ। यस्ता सवारीसाधनलाई उक्त सडक प्रयोगमा रोक लगाई वैकल्पिक मार्गतर्फ डाइभर्ट गर्ने तयारी भइरहेको पनि साहले बताए।

नगरपालिकाले इन्जिनियर तथा प्राविधिकको सिफारिसका आधारमा सडकको तल्लो तहदेखि नै आवश्यक सुधार गरी सम्बन्धित ठेकेदारमार्फत पुनः निर्माण तथा मर्मत कार्य गराउने जनाएको छ।