गगनको गर्जन र देउवाको मौनता

बि.सं. २०७९ निर्वाचन केहि समय अगाडिदेखि र निर्वाचन पछि नेपालको राष्ट्रिय राजनीतिक दलहरु केही फुटदै थिए त केही फुटको संघारमा थिए। अनन्त आजको दिनसम्म लगभग राष्ट्रिय भन्ने गरेका सबै दलहरु छिन्नभिन्न भैइसकेको अवस्था छ। इतिहासमा पनि दलहरू पार्टी भित्रनै फरक धार राख्ने र केही गुटबन्दी गर्ने काम नभएको भने होइन। तर पनि आजको वर्तमान अवस्थामा जुन किसिमबाट पार्टीहरुको फुटका कारण नेपालको राष्ट्रिय राजनीति इतिहासकै सबैभन्दा कमजोर अवस्थामा उभिएको छ। मुख्यत नेपालमा दुई धारको राजनीति वर्चस्व कायम रहेको छ। २०८२ भदौमा २३ र २४ गते भएको जेनजी आन्दोलनपछि नेपालमा नयाँ शक्तिको उदय भएको छ। आज वर्तमान सरकारमा यहि दलले दुई तिहाई बहुमत सहितको सरकार निर्माण गर्न सफल भएको छ। नेपाली काङ्ग्रेस नेपालको राजनीतिक इतिहासमा लामो कालखण्ड पार गर्दै देशमा जे-जति राजनीति आमूल परिवर्तन भए त्यस परिवर्तनको अग्रस्थानमा रहेर नेतृत्व गर्दै आजका दिनसम्म पनि नेपाली काङ्ग्रेस देशको परिवर्तन पक्षमा उभिएको पाइन्छ।
जब भदौ २३/२४ देशमा जुन आन्दोलन वा दुर्घटना जे भनेपनी यस घटना पछि नेपाली राष्ट्रिय राजनीतिमा भुकम्प नै आयो। भदौ २४ गतेका दिन नेपाली काङ्ग्रेसको पार्टी सभापति देउवा माथि सांघातिक आक्रमण भयो। यहाँ एउटा ठुलो प्रश्न चिन्ह खडा हुन्छ। किन आफ्नो पार्टी सभापति माथी यस्तो सांघातिक आक्रमण हुँदा सिङ्गो पार्टी किन चुपचाप बस्यो। हामी राज्य व्यवस्था भएको मुलुकमा छौ, जहाँ गलत र सहि छुटाउने नियम कानुनको व्यवस्था छ। कुनै उदेश्य बिहिन र आपराधिक सोच मानसिकता बोकेको भिडको निर्णयलाई आम जनताले सत्य मानुपर्ने कुनै आवश्यकता छैन। सिङ्गो पार्टी मुग दर्शकको रुपमा प्रस्तुत भएपछि। पार्टी सभापति देउवाले आफ्नो यो घटना प्रती कुनै धारणा र आफुमाथी भएको आक्रमण कुनै प्रकारको निन्दा गर्नु भएन। उहाँले आफ्नो पिडा आफैसित राख्नु सहि ठान्नु भयो। जुन राष्ट्र जुन पार्टीको लागि सारा जीवन सुम्पनु भयो। उहाँमाथी पार्टी भित्र र बाहिर देशीविदेशी सबै शक्तिहरुले एकैपटक हमला भएको थियो। अन्नतमा उहाँले भोग्नु परेको त्यो कठिन परिस्थिति थियो। यस कालखण्डको आज नभएपनि इतिहासले ठुलो मुल्य चुकाउनु पर्नेछ।
वर्तमान अवस्थामा यो पिडाको कसैले महसुस नगरेतापनी इतिहासको पानामा पश्चतापको लामो काहनी सहित भरिने सुनिश्चित छ। पार्टी सभापतिको शक्ति कमजोर भएको स्थिती र देशमा राजनीतिक अस्थिर अवस्थालाई मध्यनजर गर्दै पार्टी पङ्गती भित्रबाट नै ठुलो षड्यन्त्रको जालो बुन्दै विशेष महाधिवेशन नाम गरेर जाल विछ्याइयो। नेपाली काङ्ग्रेस लोकतान्त्रिक पार्टी थियो र हो पनि। किन हतारहतारमा नेतृत्व माथी प्रश्न नै पश्नको पहाड ठड्याउनु आवश्यकता थियोे। पक्कै पनि परिवेश त्यस्तो थिएन। वास्तविक स्थिति त पार्टी भन्दामाथि रहेर राष्ट्र हितका लागि एकजुट हुनुपर्ने तत्कालीन आवश्यकता थियोे। १४ औ महाधिवेशनबाट चयन गरिएको सभापति सहितको कार्यसमिति निरंकुश बिधिबाट नभई लोकतान्त्रिक प्रक्रियाबाट नै चयन भएको थियो। विशेष महाधिवेशनबाट निर्वाचित हुनु भएका पार्टी सभापति आफैसमेत त्यस कार्यसमितिमा महामन्त्री हुनुहुन्थ्यो। प्रश्न र अविश्वास किन पार्टी सभापति देउवालाई मात्रै लक्षित गरियो। साच्चै जेनजी पुस्ताको माग नयाँ पुस्तामा पार्टी हस्तान्तरण खोजीएको भन्ने हो भने पनि प्रतिनिधि सभा निर्वाचनमा जेनजी आन्दोलन पछि र विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति, महामन्त्री लगाएतका उहाँका फ्रन्टलाइन टिम सम्पुर्णले लज्जास्पद हार बेहोर्नु परेको थियो।
पार्टी भित्रको अग्रज नेताहरूको विरोध र नयाँ पुस्तालाई सपना बाड्नुमात्रै एउटा कुसल राजनीतिक नेतृत्वको जिम्मेवारी हैन। उहाँको भाषण नेपाली जनताले सुनेको पनि निकै लामो समय भए जस्तो लाग्छ। वि.स २०५१ बाट त्रिचन्द्र क्याम्पसबाट सुरुवात गरिएको उहाँको राजनीति यात्रा पनि २०८३ सालसम्म आइपुग्दा ३२ वर्ष पुरानो भैसकेछ तर पनि उहाँ आफुलाई कहिले पनि पुरानो नभएको र सधैं आफुलाई मात्रै नयाँ देख्ने नजर बदल्नु सक्नु भएको छैन। उहाँको मुख्य समस्या भनेको अग्रजहरुलाई पुरानो काम नलाग्ने मात्रै देख्ने नयाँ पुस्तामा आशा नदेख्नु। समस्याको समाधान र निकास वा अस्पष्ठ र अन्योलग्रस्त परिस्थितिलाई स्पष्ट रुपमा चित्रण गर्नसक्नुपर्छ।
एउटा विकट स्थानमा जन्मेर पनि शेरबहादुर देउवाले आफ्नो जीवन गरिव, पिछडिएको समाज, जाति, बर्ग, देशको निम्ति समर्पण गरेको पाइन्छ। डडेलधुरा जिल्लाको अशिग्राम गाउँ विकास समितिको रुवाखोला जस्तो बिकट ठाँउमा जन्मनु भएको पार्टी सभापति देउवा, अध्यन गर्ने सिलसिलामा राजधानी आउनु भयो। प्रजातन्त्रको निम्ति सङ्घर्ष गर्दा तत्कालीन निरकुंश पंचायती राज्यको शिकार हुनु भएको थियो। उहाँले लोकतान्त्रिक संघर्षका लागि पञ्चायत शासनकालमा विभिन्न समयमा लगभग दश वर्ष जेल जीवन बिताउनु भएको थियो। उहाँ नेपाली कांग्रेसको विद्यार्थी संगठन (NSU) का संस्थापक सदस्य र २०२८ सालमा उहाँ निर्वाचित पहिलो अध्यक्ष हुनुभएको थियोे। उहाँले यस नेविसंघ लाई निरन्तर २०३६ सालसम्म नेतृत्व गर्नुभएको थियो।
अन्तिम समयमा नेपाल फर्केर निरन्तर सक्रिय राजनीतिमा लाग्नु भयो। २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालमा भएको निर्वाचनमा सभापति देउवा डडेल्धुराबाट विजयी हुनुभएको थियो। २०४८ सालमा पहिलो निर्वाचन जितेपछि गृहमन्त्री हुनु भएका देउवा पाँचपटक देशको प्रधानमन्त्री बनिसक्नु भएको थियो।वि.सं. २०५३ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा शेरबहादुर देउवाले बहुचर्चित र विवादस्पद बनेको टनकपुर सन्धिलाई प्रतिपक्षको समेत सहयोगमा दुई तिहाइ बहुमतले पारित मात्र गराउनु भएन, नेपाल-भारत सीमा भएर बग्ने महाकाली नदीको पानीमा दुवै देशको बराबर हक लाग्ने गरी सम्झौता गर्न सफलता प्राप्त गर्नुभयो। टनकपुर-सम्झौतासँग जोडिएका अन्योल र विवादको अन्त्य गर्दै नेपालको हित हुने गरी समाधान गरेर उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो साख बढाउनु सफल हुनु भएको थियो।
आफ्नो कार्यकालमा मूल्य- अभिवृद्धि कर लागु गरी मुलुकको आर्थिक वृद्धिदरमा ठुलो टेवा पुऱ्याउनु भएका देउवाकै सरकारकै नेतृत्व कालमा सन् २००२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुदृढ र शक्तिसम्पन्न बनाउने विधेयक तर्जुमा भई संसदबाट पारित गरिएको थियो। उहाँको त्यस कदमले मुलुकबाट भ्रष्टाचारको अन्त्य गर्ने प्रक्रिया विधिवत प्रारम्भ भएको थियो।
देउवाले वि.सं. २०५८ सालमा देशमा लागू भएको भूमिसुधार कार्यक्रममा समयानुकूल सुधार गरी जमिनको दोहोरो स्वामित्वको प्रथालाई अन्त्य गर्नु भएको थियो। उहाँको नेतृत्वमा संसदले मुलुकी ऐनको ११औं संशोधन गरेर महिलालाई समान अधिकार र सम्पत्तिमाथिको हक सुनिश्चित गराउनु भएको थियो। उहाँकै पालामा विशेष वर्ग, लिङ्ग तथा समुदायका हितका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोग जस्ता विभिन्न आयोग गठन गरिएको थियो।
भदौ २३/२४ गतेको घटनामा प्राय सबै नेताहरुले आफ्नो निवास छोडेर भागेका थियो त्यस दिन। विशेष महाधिवेशन सभापतिज्यु पनि भाग्नु भयो। उहाँ आफ्नो निवास बाट भागेर कुनै होटेलमा आश्रय लिनुभएको थियो। नेपाली काङ्ग्रेस पार्टी नेतृत्वमा जेनजी पुस्ताको माग गगन थापा हुदो हो त उहाँ आफ्नो ज्यान जोगाउनु भाग्नुपर्ने थिएन होला। पार्टी भित्र उहाँले पुस्ता हस्तान्तरण कुरा बारम्बार गर्नु भयो। अब आउने नयाँ पुस्ताले पार्टी भित्र उहाँले जस्तो पुस्ता हस्तान्तरणमुद्दा उठाउनु नपरोस् र विशेष महाधिवेशनबाट अर्को पुस्तालेपनि पार्टी गठन यहीँ प्रक्रियाबाट अपनाउनु नपरोस्। पार्टी ठुलो ठुलो गर्जनले प्रश्न गर्न सिकाउनु भएको छ। अब ती प्रश्नहरु तपाईप्रती उठ्ने छन तर ती प्रश्न सोध्ने आवाजहरुप्रती प्रतिशोधको भावनाले नहेर्नुहोला। तपाई पनि यो दलिय व्यवस्थामा ३ पटक निर्वाचित र १ पटक पराजित हुँदै ४ पटक भाग लिएर परिक्षण भैसकेको व्यक्ति नै हो। पटकपटक सरकार सरिक भएर आफ्नो क्षमता के कति हो भनेर जनता माझ प्रस्तुत गरिसक्नु भएको छ। तपाईबाट आम जनतले ठुलो आशा अपेक्षा पनि खासै राखेको पाइदैन। भाषणको भरमा मात्र राजनीति गर्न अब
सहज छैन। तपाईको बिद्यार्थी राजनीति गरेर आएको भन्ने शैली अब पुरानो नै भैसकेको छ। एउटै भाका र शैली जनताले सधै रुचि नराख्ने रहेछ भन्ने कुरा गएको निर्वाचनले प्रमाणित गरिदिएको छ।
देउवाको गल्ति भनेको त्यसदिन आफ्नो निवासमा नछाडेर बस्नु नै भयो। तर एउटा कुरा त्यस दिन जुन भिडले उहाँको घर उहाँहरु परिवार हमला गरेको थियो त्यहीँ माध्यबाट केही व्यक्तिहरुले सुरक्षित गरेका थिए। उहाँको सुरक्षात्मक सेना, प्रहरी, सशस्त्र बल दर्शनका रुपमा मात्रै उपस्थिति जनाए। यदि घरबाट भागेर कतै गएर आफुलाई सुरक्षित राख्नु भएको भए, उहाँ पनि आज अरु नेताहरु जस्तै सहजै आफुलाई चोख्याउन सक्नु हुन्थ्यो।
नेपाली काङ्ग्रेस पार्टीमा आज देखिएका केही मुख्य समस्याहरु:-
• वैचारिक शून्यता: नेपाली कांग्रेसले वीपी कोइरालाको ‘प्रजातान्त्रिक समाजवाद’ को विचारलाई केवल नारामा मात्र सीमित राख्यो, त्यसलाई समय र माटो सुहाउँदो ढङ्गले व्यवहारमा उतार्न वा परिमार्जन गर्न सकेन।
• आन्तरिक द्वन्द्व र नेतृत्वको चुनौती: पार्टी आन्तरिक खिचातानीमा अल्झिएको छ। यस प्रकारको प्रवृत्ति पार्टी स्थापन कालको शुरूवात समय देखि आज सम्म निरंतरता पाएको छ।
• १५औं महाधिवेशनलाई पार्टी सच्याउने अन्तिम मौका भनिएको छ, जहाँ “मेरो र तेरो” भन्दा सक्षम नेतृत्व छान्न आवश्यक छ।
• सिद्धान्तको सापेक्षता र उत्पादन: मार्क्सवाद होस् या बिपीको समाजवाद, दुवैले उत्पादनलाई जोड दिन्छन्। उत्पादन बिनाको समाजवाद असम्भव छ, तर कांग्रेसले उत्पादनमुखी कार्यक्रम ल्याउन सकेन। सिद्धान्तहरू समयअनुसार परिवर्तनशील (सापेक्ष) हुनुपर्छ।
• जनतामा स्पष्टताको कमी: कांग्रेसको समाजवाद र कम्युनिष्टहरूको समाजवादमा के फरक छ र सत्तामा पुगेपछि कांग्रेसले के गर्छ भन्ने कुरा जनतालाई स्पष्ट बुझाउन सकिएको छैन। केवल कम्युनिष्टहरूलाई गाली गरेर वा भ्रष्ट भनेर मात्र कांग्रेसले जनमत पाउन सक्दैन, आफूलाई बलियो विकल्पका रूपमा पार्टी पङ्तिमा उभ्याउन नसक्नु।
निचोड:
अब कांग्रेस केवल वीपीको नाम र इतिहासको विरासतले मात्र जिवित रहन सक्दैन। यदि समयसापेक्ष रूपमा आफूलाई नसच्याउने हो भने इतिहासको ‘डाइनोसर’ जस्तै यस पार्टीको अस्तित्व समाप्त हुन सक्छ।
विपिले भन्नुभएको थियो कि राष्ट्रियता भनेको माटो होइन जनता हो भन्नुभएको थियो। आज हामीले जनभावना बुझ्न् नसकेको कारण आज देश राजनीतिक दलहरू यस परिस्थितिसम्म आइपुग्नुको मुख्य कारण हो।

















