
रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ तथा संरक्षण अभियान सुरु गरेको छ।
नगरपालिकाभित्र पर्ने चोप्राहा बोर्डरदेखि बक्राह पुलसम्म तथा पूर्वमा मधुबनी चोकदेखि पश्चिममा वेतौना क्षेत्रसम्म सडक किनारमा केही समयअघि हरियाली प्रवर्द्धन र सौन्दर्यीकरणका लागि वृक्षारोपण गरिएको थियो। तर, वृक्षारोपणपछि आवश्यक स्याहार–सुसार, नियमित गोडमेल तथा संरक्षणको अभाव हुँदा बिरुवाहरू झारजङ्गलले ढाकिन थालेका थिए।
उक्त विषयलाई लिएर विभिन्न सञ्चार माध्यमले समाचार सम्प्रेषण गरेपछि नगरपालिकाले शनिबार बिहानदेखि माली परिचालन गरेर सडक किनारका बिरुवाको वरिपरि उम्रिएका झारपात हटाउने, सफाइ गर्ने तथा संरक्षणको काम सुरु गरेको हो।
स्थानीयवासीहरूले भने समाचार सार्वजनिक भएपछि मात्रै काम थालिनु दुःखद भएको प्रतिक्रिया दिएका छन्। “वृक्षारोपण गर्नु मात्रै ठूलो कुरा होइन, त्यसको संरक्षण पनि उत्तिकै आवश्यक हुन्छ,” एक स्थानीयले भने, “समाचार नआएको भए सायद यी बिरुवाको सरसफाइ हुने थिएन।”
नगरपालिकाले वातावरण संरक्षण र हरियाली विस्तार गर्ने उद्देश्यले रोपिएका बिरुवाहरू नियमित हेरचाहको अभावमा नष्ट हुने अवस्थामा पुगेपछि जनस्तरबाट समेत आलोचना बढ्दै गएको थियो। सञ्चार माध्यममा समाचार आएलगत्तै सरसफाइ सुरु गरिनुलाई स्थानीयले सकारात्मक रूपमा लिए पनि अब दीर्घकालीन संरक्षण योजना आवश्यक रहेको बताएका छन्।
स्थानीयवासीका अनुसार वृक्षारोपणलाई प्रभावकारी र दिगो बनाउन नियमित गोडमेल, समयमै पानी हाल्ने व्यवस्था, संरक्षणका लागि जनशक्ति परिचालन तथा अनुगमन प्रणालीलाई व्यवस्थित गर्न आवश्यक देखिएको छ।