आज : २०२६-०७-०८, बुधबार

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले झारपातले ढाकिन थालेका छन्। नगरलाई हरियालीयुक्त, वातावरणमैत्री तथा सौन्दर्यपूर्ण बनाउने उद्देश्यले केही वर्षअघि सञ्चालन गरिएको वृक्षारोपण अभियान अहिले संरक्षण अभावका कारण ओझेलमा पर्न थालेको स्थानीयवासीले बताएका छन्।

नगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने चोप्राह बर्डरदेखि बक्राह पुलसम्म तथा पूर्वमा मधुबनी चोकदेखि पश्चिममा बेतौना क्षेत्रसम्म सडकको दायाँबायाँ वृक्षारोपण गरेको थियो। प्रारम्भिक चरणमा अभियान प्रभावकारी देखिए पनि पछिल्लो समय आवश्यक हेरचाह नहुँदा बिरुवाहरू घाँस र झारको बीचमा हराउन थालेका छन्।

स्थानीयका अनुसार पूर्व मेयर दिलिप बगडियाको कार्यकालमा ती बिरुवाहरूको संरक्षणका लागि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म माली खटाइ गोडमेल गरिन्थ्यो। तर हाल उपप्रमुख भुमा पराजुलीले मेयरको जिम्मेवारी सम्हालेपछि वृक्षारोपण गरिएका क्षेत्रमा नियमित गोडमेल र संरक्षण कार्य प्रभावकारी रूपमा हुन नसकेको गुनासो बढेको छ।

सडक किनारको हरियाली योजनाले अपेक्षित परिणाम दिन नसकेको भन्दै स्थानीयवासीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। वृक्षारोपणपछि आवश्यक नियमित अनुगमन, गोडमेल तथा संरक्षण नहुँदा सरकारी लगानीसमेत खेर जाने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ।

रङ्गेली नगरपालिकाको हरियाली अभियान सकारात्मक उद्देश्यका साथ सुरु गरिएको भए पनि त्यसको दीर्घकालीन संरक्षणमा कमजोरी देखिएको स्पष्ट भएको छ। स्थानीयले अब तत्काल गोडमेल, संरक्षण र नियमित निगरानीलाई प्राथमिकतामा राख्न नगरपालिकासँग माग गरेका छन्।