
मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। स्थानीय नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित उक्त शिविरमा सयौं सेवाग्राहीले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका थिए।
रङ्गेली बचतको आयोजना तथा उज्यालो युथ नेटवर्क र उज्यालो गुप्तरोग स्वास्थ्य सेवा केन्द्र, मोरङको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा विभिन्न रोगसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो। शिविरमा पायल्स, फिस्टुला, फिसर, हाइड्रोसिल, गाँठागुठी लगायतका रोगहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो।
कार्यक्रमअन्तर्गत निःशुल्क ल्याब टेस्ट (रगत जाँच), औषधि वितरण तथा विशेषज्ञ डाक्टरद्वारा मलद्वारसम्बन्धी विभिन्न समस्याहरू—जस्तै चिलाउने, पोल्ने, दुख्ने, मासु पलाउने, रगत वा पिप आउने तथा मलद्वार बाहिर निस्किने समस्याको समेत जाँच गरिएको थियो।
शिविरमा संस्थाका पूर्वअध्यक्ष लक्ष्मी प्रसाद मेहता, अध्यक्ष कैलाश प्रसाद मण्डल, वडा अध्यक्ष सुजीत कुमार मण्डल, डाक्टर प्रविन कुमार यादव, पवन न्यौपाने, बिमल कार्की लगायतको उपस्थिति रहेको थियो।
संस्थाका अध्यक्ष कैलाश प्रसाद मण्डलले सहकारी संस्था केवल आर्थिक कारोबारमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य क्षेत्रमा पनि सक्रिय रहेको बताए। उनले आर्थिक अभावका कारण नियमित स्वास्थ्य परीक्षणबाट वञ्चित स्थानीय नागरिकलाई लक्षित गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।
शिविरमा वृद्धवृद्धा, युवा तथा बालबालिकाको समेत उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीयवासीले यस्तो कार्यक्रमले गाउँघरमै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त भएको भन्दै आयोजकप्रति आभार व्यक्त गरेका छन्।