
रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त गर्ने विद्यार्थी भानुभक्त भट्टराईलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरेको छ।
रङ्गेली नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा नगर प्रमुख भुमा पराजुली, शिक्षा अधिकृत लीला ओझा, प्याब्सन रङ्गेली अध्यक्ष गोपाल भट्टराई, विद्यालयका प्रिन्सिपल विकर्ण कार्की, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
रङ्गेली–४ आमतोलाका देवी प्रसाद भट्टराई र बिना बरालका जेठा छोरा भानुभक्त भट्टराईले कक्षा ४ देखि मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलमा अध्ययन गर्दै आएका थिए। भानुभक्तका बुवाका अनुसार विद्यालयमा प्रारम्भिक भर्नाका बेला प्रिन्सिपल कार्कीले उनी अध्ययनमा कमजोर रहेको बताएका थिए। तर निरन्तर मेहनत, अभिभावकको साथ र शिक्षकहरूको मार्गदर्शनका कारण उनले एसईईमा उत्कृष्ट सफलता हासिल गर्दै 4 GPA ल्याउन सफल भएका हुन्।
विद्यालयले भानुभक्तलाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गर्दै उनको उपलब्धिको कदर गरेको हो। विद्यालयका प्रिन्सिपल विकर्ण कार्कीले विद्यार्थीको मेहनत, अभिभावकको सहयोग र शिक्षकहरूको निरन्तर प्रयासले विद्यालयले सफलता प्राप्त गरेको बताउँदै आगामी दिनमा पनि अनुशासित र गुणस्तरीय शिक्षामा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
शिक्षा अधिकृत लीला ओझाले उत्कृष्ट नतिजाले अन्य विद्यार्थीहरूलाई समेत प्रेरणा दिने बताउँदै निरन्तर अध्ययन, मेहनत र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गर्नुभयो।
नगर प्रमुख भुमा पराजुलीले शिक्षा समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई भविष्यका सक्षम नागरिक बन्न प्रेरित गर्नुभयो। उहाँले विद्यालयको प्रगतिप्रति शुभकामना व्यक्त गर्दै यस्ता सम्मान कार्यक्रमले विद्यार्थीमा थप उत्साह र प्रेरणा जगाउने धारणा राख्नुभयो।
एसईईमा भानुभक्तले हासिल गरेको सफलता र विद्यालयले गरेको सम्मानले मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुललाई शिक्षा क्षेत्रमा थप चर्चित बनाएको छ।