
काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि अनुरोध गरेको छ। कार्यालयले एक यात्रुलाई बिदाइ गर्न बढीमा तीन जनासम्म मात्र विमानस्थल आउन आग्रह गरेको हो।
विमानस्थल परिसरमा एक यात्रुसँगै १० जनासम्म आउने क्रम बढ्दा अत्यधिक भीडभाड भएको प्रशासनको भनाइ छ। यसले सुरक्षा व्यवस्थापनमा थप चुनौती सिर्जना गर्नुका साथै यात्रुहरूको आवतजावतमा असुविधा भइरहेको जनाएको छ।
बारम्बार सूचना जारी गरिए पनि अपेक्षित रूपमा भीड कम नभएको उल्लेख गर्दै विमानस्थल प्रशासनले सबैलाई जिम्मेवार बन्न र सीमित संख्यामा मात्र आफन्तलाई बिदाइका लागि ल्याउन सहयोग गर्न अपिल गरेको छ।
