
मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो क्षेत्रमा आयोजना गरिने उक्त कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन व्यापक तयारी अघि बढाइएको छ।
मोरङ जिल्ला सहकारी संघका अध्यक्ष एवं कार्यसम्पादन समितिका संयोजक राकेश दाहालको अध्यक्षतामा बसेको बैठकले कार्यक्रम सफल बनाउन १२ वटा विभिन्न उपसमिति गठन गरेको जनाएको छ। जिल्लाभर छरिएर रहेका सहकारीकर्मीहरूलाई एउटै थलोमा समेट्ने उद्देश्यसहित यस वर्ष कानेपोखरीलाई मुख्य केन्द्रका रूपमा चयन गरिएको हो।
दिवसको गरिमा उच्च राख्न याली, झाँकी, स्वास्थ्य सेवा, मञ्च व्यवस्थापनलगायतका क्षेत्रका लागि छुट्टाछुट्टै जिम्मेवारी तोकिएको छ। कार्यक्रमको पूर्वसन्ध्यामा मोटरसाइकल र्याली आयोजना गरिनेछ, जसका संयोजक हरिप्रसाद कोइराला तोकिएका छन्। र्याली व्यवस्थापनमा त्रिभुनाथ फुयल संयोजक तथा राजेश कार्की र कुमार फुयल सदस्य रहनेछन्।
स्वयंसेवक परिचालनको जिम्मेवारी देवेन्द्र थापालाई दिइएको छ भने स्वास्थ्य शिविर तथा आपतकालीन व्यवस्थापनको नेतृत्व यसोदा लिम्बूले गर्नेछिन्। स्वागत समितिको संयोजन कृष्णमाया विष्टले गर्नेछिन् भने मञ्च व्यवस्थापनको जिम्मा राजेश कार्कीको समितिलाई दिइएको छ।
यसैगरी आर्थिक व्यवस्थापन ई. कमलेश्वर ठाकुरले सम्हाल्नेछन् भने प्रचार–प्रसार समितिको संयोजक विजय खतिवडा रहेका छन्। समितिमा हरि कोइराला, अविनास निधी, एविन्द्र पाठक र रविन्द्र बराल सदस्य रहेका छन्। खानेपानी व्यवस्थापन कमला योञ्जन, पार्किङ व्यवस्थापन होमनाथ दवाडी, दीप प्रज्वलन हिमप्रसाद तिम्सिना तथा झाँकी प्रदर्शन गणेश राईले संयोजन गर्ने निर्णय भएको छ।कार्यक्रमलाई सफल बनाउन रमाइलो जनएकता सहकारी संस्थाले प्रमुख भूमिका निर्वाह गरिरहेको जनाइएको छ।
बैठकमा बोल्दै संयोजक दाहालले सहकारीको शक्ति, एकता र योगदान प्रदर्शन गर्ने महत्वपूर्ण अवसरका रूपमा यस दिवसलाई लिइएको बताए। जिल्लाभरका सहकारी संस्थाहरूको उल्लेखनीय सहभागितासहित कार्यक्रमले कानेपोखरीको पहिचानलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।