
मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न गरेको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विविध सांस्कृतिक तथा शैक्षिक गतिविधिहरू प्रस्तुत गरिएको थियो। विद्यार्थीहरूले विभिन्न प्रतियोगितामा सहभागी हुँदै गीत, नृत्य तथा सिर्जनात्मक प्रस्तुति मार्फत अभिभावक तथा उपस्थित पाहुनालाई मनोरञ्जन प्रदान गरेका थिए।
कार्यक्रमका क्रममा विद्यालयले एक वर्षको अवधिमा खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेको थियो।
कार्यक्रममा रङ्गेली नगरपालिकाका शिक्षा अधिकृत लिला ओझा प्रमुख अतिथि रहनुभएको थियो भने प्याप्सन कोशी प्रदेश सल्लाहकार सुनिल पौडेल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यस्तै, प्याप्सन जिल्ला सदस्य जीवन खनाल, पूर्व सहसचिव विकर्ण कार्की, रङ्गेली प्याप्सन अध्यक्ष गोपाल भट्टराई, कोषाध्यक्ष प्रमोद मण्डल, विद्यालयका प्रिन्सिपल भक्तराज सुब्बा, स्थानीय स्काउटका प्रमुख मोतिराम ढुंगाना लगायत स्थानीय बुद्धिजीवी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
विद्यार्थीहरूले रङ्गेली क्षेत्रका विभिन्न मठ–मन्दिरहरूको चित्रांकन समेत प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रममा सहभागी अतिथिहरूलाई विद्यालयले मायाको चिनो प्रदान गर्दै सम्मान व्यक्त गरेको थियो।