
धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गङ्गाजमुना गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडा प्रमुख अतिथि तथा गाउँपालिका प्रवक्ता एवं वडा नं. ५ का वडा अध्यक्ष कुमारबहादुर विशेष अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा छिमेकी विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, वडा शिक्षा समितिका सदस्य, वडाका जनप्रतिनिधि, विद्यालयसँग सम्बन्धित पूर्वविद्यार्थी, शिक्षक तथा व्यवस्थापन समितिका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए। कार्यक्रम सञ्चालन विद्यालयमा कार्यरत एक शिक्षिका र एक विद्यार्थीले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा सहभागी सम्पूर्ण अतिथिहरूका लागि खाजाको व्यवस्था गरिएको थियो।
यसै अवसरमा गङ्गाजमुना गाउँपालिका–५ को वडा कार्यालय तथा वडा शिक्षा समितिको आयोजनामा र हिलेपोखरी आधारभूत विद्यालयको व्यवस्थापनमा वडा स्तरीय विभिन्न प्रतियोगिताहरू पनि सम्पन्न भएका छन्। कक्षा १–३ का लागि चम्चा दौड र मेमोरी रेस तथा कक्षा ४–५ का लागि हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा ९ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
प्रतियोगिताका नतिजा यसप्रकार छन् :
कक्षा १–३ तर्फ चम्चा दौड
प्रथम – सृष्टि गुरुङ (ढाँडखर्क आधारभूत विद्यालय)
द्वितीय – शिवानी घले (सरस्वती आधारभूत विद्यालय)
तृतीय – सुजता कार्की (जलकन्या आधारभूत विद्यालय)
सान्त्वना – सरस्वती बिक (गङ्गाजमुना आधारभूत विद्यालय)
कक्षा १–३ तर्फ मेमोरी रेस
प्रथम – नविन राना मगर (अन्नपूर्ण आधारभूत विद्यालय)
द्वितीय – ऐश्वर्य अधिकारी (गङ्गाजमुना आधारभूत विद्यालय)
तृतीय – विमला घले (सरस्वती आधारभूत विद्यालय)
सान्त्वना – सोनिका थापा मगर (कालिकादेवी आधारभूत विद्यालय)
कक्षा ४–५ तर्फ नृत्य प्रतियोगिता
प्रथम – ढाँडखर्क आधारभूत विद्यालय (रोविन गुरुङ, सोनिया गुरुङ, रेश्मिका गुरुङ)
द्वितीय – मण्डली माध्यमिक विद्यालय (विवेक नेपाली, चेतन बिष्ट, समीक्षा अधिकारी)
तृतीय – अन्नपूर्ण आधारभूत विद्यालय (कमन राना मगर, युनिशा बिक, रोयन आले मगर)
कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ मजबुत बनाउनुका साथै विद्यार्थीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको विद्यालयले जनाएको छ।