
रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोला मा निर्माण भइरहेको झुलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेपछि स्थानीयवासी उत्साहित भएका छन्। नेपाल सरकार, सहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभागद्वारा सो स्थानमा ‘मिर्चाडाँगी–महादेवा मल्टिस्प्यान ट्रेल ब्रिज’ निर्माण भइरहेको हो।
७ सय ४७ मिटर लम्बाइको पुल निर्माणका लागि थानी निर्माण सेवा प्रा.लि., बत्तीसपुतली काठमाडौंले भ्याटसहित कुल १९ करोड ८२ लाख ४४ हजार ६ सय ६२ रुपैयाँमा ठेक्का पाएको छ। पुल निर्माणका लागि २०८२ असार ११ गते ठेक्का सम्झौता गरिएको थियो।
निर्माण कार्य सम्पन्न गर्न नेपाल सरकारले २४ महिनाको समयसीमा दिए पनि निर्माण कम्पनीले तीव्र गतिमा काम अगाडि बढाउँदै निर्धारित समयभन्दा १४ महिना अगावै पुल निर्माण सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने जनाएको छ। निर्माण व्यवसायी लोकबहादुर बस्नेतका अनुसार वैशाखको दोस्रो साताभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिनेछ।
नेपाल–भारत सीमाको बीच भागमा पर्ने ‘श्रीलंकाको टापु’ भनेर चिनिने क्षेत्रका स्थानीयवासीले वर्षेनी आउने बाढीका कारण ज्यान जोखिममा राखेर आवतजावत गर्नुपर्ने बाध्यता भोग्दै आएका छन्। पुल सञ्चालनमा आएपछि स्थानीयहरूलाई आवतजावतमा ठूलो सहजता हुने स्थानीय चन्दन सिंहले बताए।
स्थानीय हारिना देवी गनगाईका अनुसार गाउँमा रातिको समयमा कोही बिरामी परेमा वर्षायाममा भारतीय भूमिबाट उपचारका लागि लैजानुपर्ने बाध्यता छ। पुल नहुँदा स्थानीयले उत्पादन गरेका सागसब्जी बिक्री गर्नसमेत भारतीय भूमि हुँदै झापाको गौरिगञ्ज बजार, चिलारी चोक तथा मोरङका विभिन्न बजारसम्म पुग्नुपर्दा निकै सास्ती खेप्नुपरेको उनले बताइन्।
स्थानीय सञ्जय सिंहका अनुसार रतुवा खोलामा आउने बाढीका कारण तटबन्ध नहुँदा गाउँ नै जोखिममा पर्दै आएको छ। गाउँबाट अन्य स्थानसम्म पुग्न खेतको आली हुँदै आवतजावत गर्नुपर्ने अवस्था छ भने सडक सुविधासमेत उपलब्ध छैन।
