
काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच भएको सात बुँदे सहमतिले नेपालको राजनीतिक वातावरणमा हलचल ल्याएको छ। सहमतिले भ्रष्टाचार, कुशासन र बेरोजगारीविरुद्धको आन्दोलनलाई निष्कर्षमा पुर्याउने लक्ष्य राखेको बताइएको छ।
यो सहमति भारतमा समेत ध्यानाकर्षणको विषय बनेको छ। भारतीय मिडियाले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्दै समाचार प्रकाशन गरेका छन्। बीबीसी हिन्दी र ‘नवभारत टाइम्स’ले बालेनको युवा र गैरपारम्परिक नेतृत्वलाई विशेष महत्व दिएका छन्। विश्लेषकहरूले भनेका छन् कि यस सहमतिसँगै पार्टीले सहरी युवा र पहिलोपटक मतदान गर्न लागेका मतदाताबाट ठुलो समर्थन पाउने सम्भावना बढेको छ।
समाचारमा बालेनले भारतसँगको सीमा विवाद र राजनीतिक हस्तक्षेपमा कडा अभिव्यक्तिहरू दिएको उल्लेख गरिएको छ। यद्यपि उनले चीनसँगको सम्बन्धमा कुनै टिप्पणी नगरेको पनि जनाइएको छ। ‘अमर उजाला’ र ‘जी न्यूज’ जस्ता मिडियाले पनि यस सहमतिलाई चुनावी रणनीतिक दृष्टिले महत्वपूर्ण भनेका छन्।
विश्लेषकहरूका अनुसार, रवि–बालेनबीचको सहमतिले नेपाली राजनीतिक परिदृश्यमा नयाँ तरङ्ग ल्याएको छ र आगामी निर्वाचनमा यसको प्रभाव देखिने छ।