
काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सी प्रालिका सञ्चालक सूर्यबहादुर डाँगी पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका–१० पुरानो बानेश्वरमा बसोबास गर्दै आएका उदयपुर त्रियुगा नगरपालिका–६ जलजले घर भएका ३५ वर्षीय डाँगीलाई प्रहरीले लैनचौर क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
हिमाली संचार संवाददाताका अनुसार डाँगीले अमेरिका, क्यानडा, अस्ट्रेलिया र युकेलगायतका देशमा अध्ययनका लागि पठाइदिने आश्वासन दिँदै कलेज शुल्क, इन्सुरेन्स लगायतका खर्च डलर कार्डमार्फत तिर्दा छिटो हुने भन्दै आफ्नै कम्पनीको बैंक खातामा रकम जम्मा गर्न लगाएका थिए। तर, विदेश नपठाई विभिन्न बहानामा पीडितहरूलाई झुक्याउँदै उनले २६ लाख ८ हजार ५ सय ६५ रुपैयाँ ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ।
पीडितहरूको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। डाँगीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।