
काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा समझदारी नजिक पुगेको संकेत देखिएको छ । उनीहरू निकट स्रोतका अनुसार दुवै नेताले चरणबद्ध रूपमा एकअर्कालाई साथ दिने सहमति तयार पारिरहेका छन् ।
सोमबार राति कमलपोखरीस्थित रास्वपा केन्द्रीय सदस्य असिम साहको कार्यालय भवनमा करिब सात घण्टा लामो छलफल भएको थियो । उक्त छलफलपछि रवि र बालेन एउटै गाडीमा बाहिरिएका थिए । सुरुमा असिम साह र कुमार बेनसहित संयुक्त छलफल भए पनि पछि रवि र बालेनबीच लामो समय एक्लाएक्लै संवाद भएको स्रोतले जनाएको छ ।
छलफलका औपचारिक एजेन्डा सार्वजनिक नभए पनि उनीहरू आगामी निर्वाचन र त्यसपछिको राजनीतिक नेतृत्वबारे साझा बाटो खोज्ने प्रयासमा देखिएका छन् । स्रोतका अनुसार यसपटक बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि बढाउन रवि सकारात्मक छन् । बदलामा अर्को चुनावमा बालेनले रविलाई समर्थन गर्ने समझदारी बन्ने क्रममा छ ।
दुवै नेता एउटै राजनीतिक संरचनामा अघि बढ्ने वा नयाँ स्वरूप दिने विषयमा पनि छलफल भइरहेको बताइन्छ । बालेनले रास्वपाको घण्टी चुनाव चिह्न स्वीकार्न सक्ने संकेत दिए पनि पार्टीको नाम र संगठनात्मक संरचनाबारे अझै सहमति जुट्न बाँकी छ ।
रवि बालेनसँग एकता र शक्ति बाँडफाँटमा लचिलो देखिएका छन् । यसअघि चितवनमा आयोजित कार्यक्रममा उनले देशको हितका लागि आफू कुनै पनि त्याग गर्न तयार रहेको बताएका थिए ।
कमलपोखरी बसाइको योजना चितवनबाट काठमाडौं फर्किएपछि तय भएको हो । सुरुमा अन्य स्थान प्रस्ताव भए पनि सुरक्षाका कारण असिम साहको कार्यालयलाई उपयुक्त मानिएको स्रोत बताउँछ । सो भेटमा डा. स्वर्णिम वाग्ले सहभागी हुने चर्चा भए पनि अन्तिम समयमा उनी सहभागी भएनन् ।
भेटवार्ताको व्यवस्थापनमा संलग्न असिम साहले छलफल सकारात्मक र सौहार्दपूर्ण भएको बताए । उनका अनुसार बालेन र रविको सहकार्यले एकताको सन्देश दिएको छ र यसलाई जनअपेक्षासँग जोडेर हेर्न सकिन्छ ।
यसैबीच, रवि र बालेनबीच वैकल्पिक राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने विषयमा पनि संवाद भएको छ । जेनजी युवाको भावना समेट्ने गरी विभिन्न समूहसँग छलफल भइरहेको र छिट्टै नयाँ राजनीतिक संकेत देखिन सक्ने नेताहरूको भनाइ छ ।