
काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले चुनाव हुने वातावरण नै बनाउन नसकेको बताएका छन्। सबैभन्दा बढी मतसहित निर्वाचित भएपछि पत्रकारसँगको कुराकानीमा उनले फागुन २१ गते निर्वाचन हुने सम्भावना कमजोर रहेको धारणा राखे।
गुरुङले जेनजी आन्दोलनका क्रममा लुटपाट भएका हतियार अझै फिर्ता नआएको, राजनीतिक नेतामाथि पक्राउ पुर्जी जारी गर्ने र थुनछेकको चेतावनी दिने काम सरकारबाट भइरहेको बताए। यस्ता गतिविधिले देशमा भय र अस्थिरता बढाएको र चुनावी माहोल बिगारेको उनको भनाइ छ।
उनका अनुसार सरकारले आफैँ चुनाव नहुने अवस्था सिर्जना गरिरहेको छ। सुशीला कार्की नेतृत्वको सरकार आकस्मिक रूपमा बनेको र संवैधानिक मर्मअनुसार नचलेको भन्दै उनले आलोचना गरे।
सरकारले निष्पक्ष र सुरक्षित वातावरण बनाएको खण्डमा एमाले चुनावका लागि सधैँ तयार रहने गुरुङले स्पष्ट पारे। तर, नेताहरूलाई थुन्छु भन्ने धम्की र स्थान हद जस्ता निर्णयले चुनाव सम्भव नहुने उनले बताए।