News Portal

सभामुखको पहलमा संसद् गतिरोध अन्त्यको प्रयास, भिजिट भिसा प्रकरणमा रास्वपा–राप्रपासँग विशेष छलफल

३१० पटक

काठमाडौं, साउन ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि संसद् अवरुद्ध भइरहेका बेला सभामुख देवराज घिमिरेले मंगलबार विपक्षी दल रास्वपा र राप्रपाका शीर्ष नेताहरूसँग विशेष छलफल गरेका छन्। संसद् सञ्चालनमा देखिएको अवरोध हटाउन सभामुखले सरकार र विपक्षीबीच संवादको आवश्यकता औंल्याउँदै सन्तुलनको भूमिका निर्वाह गरेका छन्।

छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, रास्वपाका कार्यवाहक सभापति डा. डीपी अर्याल र राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ सहभागी थिए। सभामुख घिमिरेले दुवै दल निरन्तर संसदीय प्रक्रियामा सहभागी नभएकोप्रति चिन्ता व्यक्त गर्दै यस्तो अवस्था संसद् सञ्चालनका लागि गम्भीर चुनौती बनेको बताए।

“संसद् सञ्चालन गर्नु मेरो कर्तव्य हो, तर संवादविनाको अवस्था अप्ठ्यारो बनिरहेको छ,” सभामुख घिमिरेले छलफलका क्रममा भने, “सरकारले आगामी आर्थिक वर्षका लागि १२१ वटा विधेयक संसद्मा प्रस्तुत गर्ने योजना बनाएको छ, तर निरन्तर अवरोधले ती विधेयकको भविष्य अन्योलमा परेको छ। सरकार र विपक्षी दलहरू दुबै जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्छ।”

सभामुखले संसद्को नियमितता कायम गर्न दलहरूलाई राजनीतिक मतभेदलाई संसदीय प्रक्रियामा बाधा नबनाउन समेत आग्रह गरे।

यता, कानुनमन्त्री चौरसियाले भिजिट भिसा प्रकरणबारे सरकार गम्भीर रहेको जनाउँदै, छानबिन समिति गठन गरेर काम अघि बढाइसकेको बताए। “सरकारले विपक्षी दलहरूको कुरा बेवास्ता गर्न खोजेको होइन, छलफल चलिरहेको छ। सहमतिको बिन्दुमा पुग्न सबै पक्ष लचिलो हुनुपर्छ,” मन्त्री चौरसियाको भनाइ थियो।

तर, रास्वपाका नेता डा. अर्याल भने सरकार गम्भीर विषयहरू छाडेर गैरजिम्मेवार व्यवहारमा उत्रिएको आरोप लगाउँछन्। “हामीले उठाएका प्रश्नहरू देश र जनतासँग प्रत्यक्ष सरोकार राख्छन्, तर सरकारले ती मुद्दा सम्बोधन गर्नुपर्ने ठाउँमा संवाद टारिरहेको छ,” उनले गुनासो गरे।

राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले पनि वैरागी नेतृत्वको छानबिन समितिले के काम गरिरहेको छ भन्नेबारे संसद्लाई अझै जानकारी नदिएकोप्रति आपत्ति जनाए।

संसद्को निरन्तर अवरोधले विधायी प्रक्रिया अवरुद्ध हुँदा विकास, नीति तथा कानुनी क्षेत्र प्रभावित भइरहेको भन्दै सभामुखले सबै दललाई साझा जिम्मेवारी बोध गर्न आह्वान गरेका छन्। अबको बाटो संवाद, समन्वय र सहकार्यमै रहेको स्पष्ट सन्देश दिन सभामुख घिमिरे अग्रसर देखिएका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...