News Portal

विराटनगरको प्रहरी कार्यालयमै तीन श्रमिकमाथि निर्घात कुटपिट, एकजना गम्भीर घाइते

१८८ पटक

विराटनगर, साउन २ – मोरङको रानीस्थित इलाका प्रहरी कार्यालयभित्रै तीन जना श्रमिकमाथि भएको कुटपिटको घटनाले प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठाएको छ। ट्रान्सफर्मर चोरीको अनुसन्धानका लागि बोलाइएका श्रमिकहरूलाई सादा पोसाकमा रहेका प्रहरीले कार्यालयभित्रै पाइप र बुट प्रयोग गरी अमानवीय कुटपिट गरेको आरोप सार्वजनिक भएको हो।

घटनामा संलग्न पीडितहरू बुढीगंगा गाउँपालिका–४ निवासी ३९ वर्षीय नासिर मिया, ३० वर्षीय कासी शर्मा र ३४ वर्षीय रमान मिया हुन्। उनीहरू मोरङ–सुनसरी क्षेत्रमा ट्रान्सफर्मर मर्मत तथा जडानको ठेक्का लिएको ‘जनसेद मिया मल्टिप्रपोज प्रालि’ मा कार्यरत श्रमिक हुन्।

कम्पनीका सञ्चालक जनसेद मियाका अनुसार, ट्रान्सफर्मर चोरीसम्बन्धी घटनाबारे सोधपुछका लागि प्रहरीको तर्फबाट “दावा शेर्पा” नाम गरेका व्यक्तिले फोन गरी आफूहरूलाई जिल्ला प्रहरी कार्यालय बोलाएको बताइएको थियो। तर पछि इलाका प्रहरी कार्यालय रानीमै आउन भनिएको र त्यहाँ पुगी तीन श्रमिकलाई छुट्टाछुट्टै कोठामा लगेर निर्ममता पूर्वक कुटपिट गरिएको दाबी छ।

सञ्चालक मिया भन्छन्, “पहिले कासीलाई पाइपले हानियो, त्यसपछि नासिरलाई बुट र थप्पडले कुट्दा उनको कानको जाली फुट्यो। रमानलाई पनि उस्तै व्यवहार गरियो।” कुटपिटपछि तीनै जना घाइते भएका थिए भने गम्भीर घाइते नासिरलाई विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकहरूका अनुसार, उनको कानमा गम्भीर क्षति पुगेको छ भने टाउकोमा पनि भित्री चोट लागेको आशंका गरिएको छ।

पीडितहरूका अनुसार, प्रहरीले घटना बाहिर ल्याएमा लागुऔषध मुद्दामा फसाउने धम्की समेत दिएको थियो। सोही डरका कारण उनीहरूले सुरुमा कुरा लुकाएका थिए। तर नासिर मियाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अस्पताल भर्ना गर्नु परेको हो।

उता इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कविन राईले भने आफू घटनासम्बन्धी कुनै जानकारीमा नरहेको प्रतिक्रिया दिएका छन्। “दावा नामको कोही प्रहरी हाम्रो कार्यालयमा छैन। ती व्यक्तिहरू यहाँ आएका थिए भन्ने कुनै रेकर्ड पनि छैन,” उनले भने, “यद्यपि, घटनाबारे जिल्लाबाट जानकारी प्राप्त भएपछि म आफैं अनुसन्धानमा जुटेको छु।”

यस घटनाले प्रहरी संगठनभित्रको अनुशासन, मानवअधिकारप्रति जवाफदेहिता र आम नागरिकको सुरक्षामाथि फेरि गम्भीर बहस उठाएको छ। पीडित पक्षले स्वतन्त्र र निष्पक्ष छानबिन गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...