सुर्खेतमा अफिम कारोबार : पाँच किलोभन्दा बढी अफिमसहित एक पक्राउ, मुख्य नाइके अझै फरार

सुर्खेत, असार २६ – सुर्खेत प्रहरीले ठूलो परिमाणको अवैध अफिम बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको छ। भेरीगंगा नगरपालिका–१० छिन्चुबाट बुधबार पक्राउ परेका व्यक्तिसँग प्रहरीले पाँच किलो ४५० ग्राम अफिम बरामद गरेको हो। पक्राउ पर्नेमा जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० निवासी ४६ वर्षीय जयबहादुर बस्नेत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधिरराज शाहीका अनुसार अफिम कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले निरन्तर निगरानी र गोप्य अनुसन्धान चलाएको थियो। सोही क्रममा बस्नेतलाई ठूलो परिमाणको अफिमसहित समात्न प्रहरी सफल भएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा बस्नेतले आफैँ अफिम उत्पादन गरेर बिक्रीवितरण गर्दै आएको बयान दिएका छन्। बरामद अफिमको स्थानीय बजार मूल्य झण्डै ८ लाख ८६ हजार रुपैयाँ आँकलन गरिएको छ भने पक्राउ परेका बस्नेतले उक्त अफिम भारत पुर्याउन सके मूल्य ५ करोड रुपैयाँसम्म पुग्ने दाबी गरेका छन्।
अफिम ओसारपसारमा संलग्न व्यक्ति पक्राउ परेपनि मुख्य कारोबारी भने अझै फरार रहेको प्रहरीले जनाएको छ। अहिले प्रहरी फरार व्यक्तिको खोजीमा थप सक्रिय भएको छ।

















