
काठमाडौं, असार १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चलिरहेको मुद्दासम्बन्धी न्यायिक लडाइँका लागि रास्वपाले देश–विदेशमा चन्दा संकलनको अभियान तीव्र बनाएको छ। रविलाई समर्थन जनाउँदै हस्ताक्षर संकलन अभियान चलाइरहेका रास्वपाले त्यसकै सिलसिलामा चन्दा संकलन गर्न विभिन्न स्थानमा क्युआर कोड राख्न थालेको छ। तर, संकलित रकम कहाँ र कसरी खर्च गरिँदैछ भन्ने विषयमा स्पष्टता नआउँदा पार्टीको यो गतिविधिप्रति चासो र प्रश्न बढ्न थालेका छन्।
असार ७ गते भैरहवा कारागारमा रहेका रवि लामिछानेको सचिवालयमार्फत् सार्वजनिक अपिलमा सरकारले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको दाबी गर्दै नागरिकको समर्थनमा हस्ताक्षर अभियान चलाउन आग्रह गरिएको थियो। त्यसपछिको केही दिनमै रास्वपाले उक्त अभियानलाई संस्थागत बनाउँदै आर्थिक सहयोग संकलन गर्न थालेको हो।
हस्ताक्षर संकलन स्थलहरूमा चन्दा संकलनका लागि राखिएका क्युआर कोडहरू रास्वपाका कार्यकर्ता तथा समर्थकमार्फत् विदेशसम्म पठाइएकोसमेत देखिएको छ। तर, संकलित रकम कुन खातामा जम्मा हुँदैछ र त्यसको प्रयोग कसरी भइरहेको छ भन्नेबारे अझै औपचारिक विवरण बाहिर आएको छैन।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले अनलाइनखबरसँग कुरा गर्दै हस्ताक्षर अभियानका लागि छुट्टै खाता खोलिएको जानकारी दिए। उनका अनुसार, अहिले अभियान सञ्चालन गर्न स्वतःस्फूर्त रुपमा सहयोग उठाउन क्युआर कोडमार्फत् रकम संकलन भइरहेको छ र त्यसको कार्यविधि मस्यौदा बनाउने प्रक्रिया जारी छ।
पार्टीका प्रवक्ता तथा संघीय सांसद मनिष झाले पनि रविको मुद्दामा पार्टीको कोषबाट खर्च भइसकेको भन्दै अब आर्थिक भार कम गर्न अलग कोषमार्फत् सहयोग संकलन गर्न थालिएको बताए। उनले भने, “पार्टीको आर्थिक अवस्था सशक्त नभएकोले हस्ताक्षर अभियान र कानुनी लडाइँ दुबैलाई सहज बनाउन छुट्टै फण्ड आवश्यक भएको हो।”
रास्वपाले हाल ‘लिगल डिफेन्स फण्ड’ को नाममा नयाँ कोष निर्माण गरेको छ। पार्टी महामन्त्री बुर्लाकोटीका अनुसार, यस कोषमार्फत् पार्टी र नेताहरूलाई आवश्यक परेका बेला कानुनी सहायता प्रदान गरिनेछ। सो कोष सञ्चालनका लागि ग्लोबल आईएमई बैंकमा उपखाता खोलिएको छ, जसमा कोषाध्यक्ष निमा अधिकारी र सहकोषाध्यक्ष दीपक बोहोराको हस्ताक्षर अधिकार दिइएको छ।
तर, बोहोराका अनुसार हालसम्म औपचारिक बैंक विवरण सार्वजनिक नभएकाले कति रकम संकलन भएको छ भन्ने विवरण सार्वजनिक गर्न सकिएको छैन।
यता, सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते रविलाई थुनामा पठाउने आदेश दिएपछि उनी हाल भैरहवा कारागारमा छन्। उनीमाथि सुप्रिम सहकारीको ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा संलग्न भएको आरोप छ। यस मुद्दामा रविसहित ४२ जना प्रतिवादी रहेका छन्।
रास्वपाका सभापति लामिछाने कारागारमा परेपछि पार्टीले उनलाई कानुनी रूपमा बचाउन अभियान चलाउँदै गर्दा चन्दा संकलनको पारदर्शिताबारे उठेका प्रश्नले राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।