रवि लामिछानेको थुनासम्बन्धी आदेशमा सर्वोच्चको संशोधन : सामान्य त्रुटि सच्याउन विशेष पेसी

काठमाडौं, जेठ ११ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीको थुनासम्बन्धी आदेशमा सामान्य त्रुटि भेटिएपछि सर्वोच्च अदालतले आइतबार विशेष पेसी बसेर उक्त त्रुटि सच्याएको छ।
यसअघि, शुक्रबार सर्वोच्च अदालतको न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछाने र जोशीलाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो। तर सो आदेशमा ‘आदेश’को साटो ‘फैसला’ उल्लेख भएको पाइएपछि त्यसलाई विधिसम्मत बनाउन आजको मितिमा पेसी राखिएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।
“अस्तिको आदेशमा ‘फैसला’ लेखिएको रहेछ, जबकि त्यहाँ ‘आदेश’ उल्लेख हुनुपर्ने हो। सो त्रुटि सच्याउन इजलास अधिकृतले प्रतिवेदन दिएपछि आज विशेष पेसी बसेको हो,” पाण्डेले बताए।
यसअघि नै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिएको थियो, जसलाई सर्वोच्च अदालतले सदर गरेको हो। यस निर्णयसँगै लामिछाने र जोशी हाल रूपन्देहीस्थित जिल्ला कारागारमै रहेका छन्।
दुवैले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरे पनि उक्त रिटमा सुनुवाइपछि सर्वोच्चले थुनामै राख्नुपर्ने निर्णय सुनाएको थियो। अब मुद्दाको अन्तिम किनारा नलागेसम्म उनीहरू कारागारमै रहने निश्चित भएको छ।

















