News Portal

अपरेशन सिन्दूर’पछि भारत–पाकिस्तानबीचको तनाव चुलिँदै, अन्तर्राष्ट्रिय समुदाय गम्भीर चासोमा

हिमालीसंचार संवाददाता
२६२ पटक

काठमाडौं, वैशाख २४ – भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा गरिएको हवाई कारबाहीपछि दक्षिण एसियाली भूमिमा एकपटक फेरि तनाव चुलिएको छ। ‘अपरेशन सिन्दूर’ नाम दिइएको भारतीय सैन्य कारबाहीपछि विश्वका ठूला मुलुकहरू र अन्तर्राष्ट्रिय संस्था गम्भीर चासो व्यक्त गर्दै संयमता अपनाउन आग्रह गरिरहेका छन्।

जम्मु–कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतंकवादी हमलाको दुई हप्ता नबित्दै भारतीय सेनाले नौवटा ठाँउमा लक्षित हवाई प्रहार गर्‍यो। भारतीय पक्षले यसलाई आत्मरक्षात्मक कदम बताउँदै ‘अपरेशन सिन्दूर’को नाम दिएको हो।

पाकिस्तानका विदेशमन्त्री इसहाक डारका अनुसार हवाई हमलामा हालसम्म ८ जनाको ज्यान गएको छ भने ३५ जना घाइते भएका छन्। उनी भन्छन्, “भारतको यो कदम पाकिस्तानको सार्वभौमिकताको गम्भीर उल्लंघन हो।”

भारतले भने पाकिस्तानतर्फबाट सीमावर्ती क्षेत्रमा लगातार गोलीबारी भइरहेकाले प्रतिकारस्वरूप कारबाही गरिएको दाबी गरेको छ। भारतीय रिपोर्टअनुसार कश्मीरमा पाकिस्तानको गोलीबारीमा ३ भारतीय नागरिकको मृत्यु भएको छ।

तनाव बढेसँगै दुवै देशका सीमावर्ती क्षेत्रमा विद्यालय तथा कलेजहरू बन्द गरिएका छन्। सुरक्षालाई लिएर उच्च सतर्कता अपनाइएको छ भने प्रमुख भारतीय वायुसेवाहरू—एयर इन्डिया, स्पाइसजेट र इन्डिगो—ले प्रभावित क्षेत्रका उडानहरू स्थगित गर्दै यात्रा चेतावनी जारी गरेका छन्।

यसबीच, पाकिस्तानको हैदरावाद शहरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको छ। पाकिस्तानको परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई पत्र पठाएर भारतको हवाई आक्रमणले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा खतरा उत्पन्न गराएको बताएको छ।

“संयुक्त राष्ट्र चार्टरको अनुच्छेद ५१ अनुसार पाकिस्तानलाई आत्मरक्षाको अधिकार छ, र उपयुक्त समय र स्थानमा जवाफ दिन सक्छौं,” पाकिस्तानको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यता पाकिस्तानले एक चर्को दाबी गर्दै भारत-नियन्त्रित कश्मीर नजिकको सीमामा भारतीय सैनिकले सेतो झन्डा फहराएको बताएको छ— जुन सामान्यतया आत्मसमर्पणको संकेत हो। यो दाबीलाई अलजजिरालगायत स्वतन्त्र स्रोतहरूले पुष्टि गर्न नसकेको जनाएका छन्।

पाकिस्तानी सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तारारले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “पहिले अनुसन्धानबाट भागे, अब मैदानबाट पनि।”

भारत र पाकिस्तानबीचको यो पछिल्लो तनावले आणविक हतियार बोकेको दुई राष्ट्रबीचको सम्बन्ध पुनः अस्थिर बनाएको छ। अहिलेको स्थितिमा सहनशीलता, संवाद र कूटनीतिक संयमता अत्यावश्यक देखिएको अन्तर्राष्ट्रिय समुदायको भनाइ छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...