News Portal

प्रधानमन्त्री ओलीको आग्रह : “शिक्षकका जायज माग सुन्न सरकार तयार छ, वार्ताबाट समाधान खोजौं”

संगीता गुरुङ
१६४ पटक

काठमाडौं, वैशाख ८ – प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनमा रहेका शिक्षकहरूलाई वार्ताको टेबलमा आउन आह्वान गरेका छन्। उनीहरूले राखेका जायज मागप्रति सरकार सकारात्मक रहेको भन्दै प्रधानमन्त्रीले संवादमार्फत समस्याको समाधान गर्न आग्रह गरेका हुन्।

काठमाडौंमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्पष्ट शब्दमा भने, “सरकार शिक्षकहरूका मागप्रति नकारात्मक छैन। जुन मागहरू सम्भव छन्, ती सबै पुरा गर्न हामी तयार छौं। कृपया आन्दोलन अन्त्य गरेर वार्तामा बस्नुस् र आ–आफ्नो जिम्मेवारीमा फर्किनुस्।”

सरकारी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका विभिन्न मागहरू राख्दै चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका छन्। आन्दोलन चुलिँदै जाँदा चैत २५ गतेदेखि उनीहरूले आम शैक्षिक हड्तालसमेत घोषणा गरेका थिए। यसले वैशाखदेखि सुरु भएको नयाँ शैक्षिक सत्र, विद्यार्थी भर्ना अभियान, एसईई उत्तरपुस्तिका परीक्षण लगायतका महत्त्वपूर्ण कार्यहरू प्रभावित भएका छन्।

प्रधानमन्त्री ओलीले आन्दोलनले शिक्षकमात्र होइन, सबैभन्दा बढी विद्यार्थी र अभिभावकलाई असर पारिरहेको बताएका छन्। “शिक्षक साथीहरूलाई आन्दोलनबाट कुनै ठोस फाइदा छैन, तर विद्यार्थीको भविष्यमा ठूलो क्षति हुँदैछ। त्यसैले म पुनः आग्रह गर्छु, वार्तामा आउनुस्, समाधान खोजौं,” उनले भने।

यसअघि शिक्षक महासंघका नेताहरूले प्रधानमन्त्री, सभामुख, र शिक्षामन्त्रीसँग पटकपटक छलफल गरेका थिए तर अझैसम्म औपचारिक सहमति जुट्न सकेको छैन। यसै सन्दर्भमा प्रधानमन्त्रीले आन्दोलन त गर्ने तर वार्ता नगर्ने भन्ने कुरा आफूलाई अनौठो लागेको पनि बताए। “मैले त अनौठो कुरा सुनेँ—आन्दोलन गर्छन् तर वार्ता गर्दैनन्! यस्तो शैलीले कसरी समाधान हुन्छ?” प्रधानमन्त्रीको प्रश्न थियो।

प्रधानमन्त्रीको यस अभिव्यक्तिपछि अब आन्दोलनरत शिक्षकहरूले कस्तो निर्णय लिन्छन् भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ। सरकार संवादका लागि खुला रहेको अवस्थामा सहमतिका लागि पहल कत्तिको सार्थक हुन्छ भन्ने कुराले अबको दिशा तय गर्ने देखिन्छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...