आज : २०२६-०६-०८, सोमबार

दस रुमानी मुक्तक

मुक्तक – १

हरपल पछ्याइरहने छाया, सजिलै कहाँ मेटिन्छ र?
तस्वीरको मधुरो काया, सजिलै कहाँ मेटिन्छ र?
यी प्राप्ती र अप्राप्तीका सीमारेखादेखी निकै पर-
सम्झनामा बसेको माया, सजिलै कहाँ मेटिन्छ र?

मुक्तक – २

छायाजस्तो धमिलो याद, स्मृतिमा सल्बलाउँछ ।
मानौं फूलको पुतली प्रकृतिमा सल्बलाउँछ ।
निरीह छन् शब्दहरु, अव्यक्त छन् संकेतहरु-
तर मनको समर्पण स्वीकृतिमा सल्बलाउँछ ।

मुक्तक – ३

अतीतलाई आमन्त्रण गरिरहन्छ मनले ।
यादलाई निमन्त्रण गरिरहन्छ मनले ।
म पनि त बहकिन्छु बिथोलिन्छु तर-
कदमलाई नियन्त्रण गरिरहन्छ मनले ।

मुक्तक – ४

भतभती जलेको मन बोकेर हिड्नु कति गाह्रो ।
मनसंग बहकिने मन बोकेर हिड्नु कति गाह्रो ।
भावनाको यात्रा त हिडेरै काटिन्थ्यो जसोतसो-
पुग्ने छु खै कहाँ? यो सोचेर हिड्नु कति गाह्रो ।

मुक्तक – ५

स्नेहको आँचल कहिल्यै मैलिन दिने छैन ।
सम्झनाको फूल कहिल्यै ओइलिन दिने छैन ।
बगिरहने छु म माया बोकेर शान्त नदी झैं-
पोखिएर रहर कहिल्यै फैलिन दिने छैन ।

मुक्तक – ६

उपहार बनेर आएको खुसी उदासीमा नबदलियोस् ।
विजयी बनेर आएको याद प्रत्यासीमा नबदलियोस् ।
बाँधीदेऊ हृदयको बन्धनमा अब नफुत्किने गरि-
अतिथि बनेर आएको माया प्रवासीमा नबदलियोस् ।

मुक्तक – ७

यति धेरै सपना संगालेर धनी भएको छु म ।
पत्थरको मूर्ती पनि पगालेर धनी भएको छु म ।
हिजोसम्म हिड्दै थिएँ म तिर्सनाको रित्तो सफर-
आज मायाको बाटो अँगालेर धनी भएको छु म ।

मुक्तक – ८

म त अतीतको पानाबाट बिस्थापित एक इतिहास हुँ ।
सम्झनाका तरंगहरुमा मग्मगाइरहने सुवास हुँ ।
प्रेमको मन्दिरमा दीपकझैं जल्नु बाहेक के गर्न सक्छु र?
यत्ती नै हो मेरो हैसियत पृय! म त चरणको दास हुँ ।

मुक्तक – ९

कसैलाई खुसी दिनु यही त माया हो ।
कसैबाट खुसी लिनु यही त माया हो ।
असम्बन्धित सम्बन्धलाई जीवन्त राख्ने –
हृदयमा बसेको चिनु यही त माया हो ।

मुक्तक – १०

हृदयलाई यो आशले कहाँसम्म साथ दिने हो !
शरिरलाई यो प्यासले कहाँसम्म साथ दिने हो !
सकेसम्म जिन्दगीलाई रमाएरै बिताऔं साथी !
मानिसलाई यो सासले कहाँसम्म साथ दिने हो !

— खगेन्द्र गिरि कोपिला
आदर्शमार्ग, वार्ड नं १ नेपालगन्ज