आज : २०२६-०७-०२, बिहीबार

चीनले अमेरिकामा रहेका अवैध नागरिक फिर्ता लैजाने घोषणा

बेइजिङ: चीन सरकारले अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन तयार रहेको जनाएको छ। अमेरिकाले अवैध आप्रवासी घोषित गरेका चिनियाँ नागरिकहरूलाई फिर्ता लैजान चीन प्रतिबद्ध रहेको बताएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई अमेरिकामा अवैध रूपमा बसिरहेका आप्रवासीहरूलाई फिर्ता नलगेमा ती देशमाथि कर तथा प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए। यसै क्रममा, पछिल्ला महिनाहरूमा अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन विभागले पाँचवटा चार्टर उडानमार्फत सयौँ चिनियाँ नागरिकलाई चीन फिर्ता पठाइसकेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बेइजिङमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, “हामी अमेरिका र अन्य देशका अध्यागमन तथा कानुन प्रवर्तन विभागहरूसँग सहकार्य गरिरहेका छौँ। प्रमाणीकरणपछि चिनियाँ नागरिकको रूपमा पुष्टि भएपछि उनीहरूलाई फिर्ता लैजान चीन तयार छ।”

यसअघि, ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनमै अवैध आप्रवासनलाई ‘राष्ट्रिय आपत्काल’ घोषणा गरेका थिए। अमेरिकी पक्षले चीनले आफ्ना नागरिकलाई अस्वीकार गरेमा भिसा प्रतिबन्धसहित कडा कदम चाल्ने चेतावनीसमेत दिएको छ।