News Portal

  • मुक्त हलिया परिवारलाई दशैँ खर्च जुटाउने पिरलो

    हिमालीसंचार संवाददाता
    ३६५ पटक

    कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५० वर्षीय दामोदर दमाइँलाई दसैँ खर्च जुटाउने पिरलो छ। चाडपर्वमा मिठो मसिनो खाने, नयाँ लुगा लगाउने रहर भएपनि दमाइँ परिवार खर्च जुटाउन नसक्दा अन्योलमा रहेका छन्।

    तीन पुस्ता हलिया बसेका दामोदर सडक छेउमा रहेको सानो झुपडीमा बस्दै आएका छन्। उनी झुपडीकै एक कोठामा सिलाइ मेसिन राखेर ग्राहकका पुराना लुगाफाँटा सिउने कार्य गर्नुहुन्छ। गतिलो सीप नहुँदा नयाँ लुगा सिउने थोरै मात्र पुग्छन्।

    महिनामा हुने २/४ हजार कमाइले घरको नून, तेल, चामल, पिठो, दालको जोहो मिलाउन उहाँको परिवारलाई धौधौ पर्छ। कमाइ नभएका बेला भोकभोकै झुपडीमा पानी मात्रै पिएर बस्नु परेको पीडा उनीसँग रहेको छ।

    दामोदरका बुवाबाजे दार्चुलाको बस्कोटमा फुसर्दको बेला निश्चित अन्न लिएर कपडा सिउने (खलो प्रथा)मा काम गर्थे। आफनो स्वामित्वको जग्गा थिएन।

    त्यसले परिवारको गुजारा चल्न नसकेपछि उनका बुवा बाजेले गाउँका मुखियाको घरमा हलिया बसेर काम पनि गरे। पहाडमा बसेर जीविका चलाउन गाह्रो हुन थालेपछि दामोदर बुवासँगै वि.सं.२०३६ मा सहज जीविनयापनको खोजीमा तराई झरे।

    “कञ्चनपुरका धेरै ठाउँमा बस्यौंँ”, उनले भने,“कुनै ठाउँमा पनि स्थायी रुपले बस्न पाएनौँ, जहाँ बस्न खोजथ्यौँ, त्यहाँबाट कतै वनको जग्गा त कतै दलित भनेर हटाइन्थ्यो।” स्थायी रुपमा बस्नका लागि जग्गा खरिद गर्ने सामर्थ नहुँदा घुमन्ते रुपमा जीवन बिताउनुपर्ने बाध्यता रहेको उनी सुनाउछन्।

    कमाइ गर्ने एक मात्रै साधन हातले चलाउने सिलाइ मेसिन मात्रै थियो। “मेसिनले कपडा सिउँदा आउने खलो(निश्चित अन्न)ले जीविका चल्थ्यो”, उनले भने, “जिउ ढाक्ने लुगाफाटो अरुसँग माग्नुपर्ने हुन्थ्यो।”

    वि.सं. २०६५ को भदौमा हलिया मुक्तिको घोषणासँगै खलो प्रथाको पनि अन्त्य भयो। त्यसपछि हाते सिलाइ गर्ने मेसिन चलाएर उहाँको परिवारले जीविका चलाउँदै आएका थिए।

    राष्ट्रिय मुक्तहलिया समाज महासङ्घ नेपाल र राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरको समन्वयमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आर्थिक सहयोगमा सञ्चालित ब्रिज परियोजना अन्तर्गत दामोदरले सिलाइ गर्ने मेसिन पाएका छन्। मेसिन पाएपछि घरखर्च चलाउन उनलाई केही सहज भएको छ।

    “आर्थिक अभावमा पहिला हातैले चलाउने सिलाइ मेसिनले छिटोछरितो रुपमा काम चलाउन गाह्रो हुन्थ्यो”, उनले भने, “खुट्टाले चलाउने मेसिन पाएपछि काम गर्न छिटोछरितो भएको छ, कपडा सिउने सीप पुरानो छ, युवाहरुले रुचाउने आधुनिक पहिरन बनाउनका लागि तालिमको आवश्यकता छ, त्यो पाएको छैन, मेसिन पाएर पनि सोचे जस्तो आम्दानी बढेको छैन।”

    वास्तविक रुपमा दुई दशकसम्म हलिया बसेर कार्य गरे पनि मुक्त हलियाको लगतमा उनी समावेश हुनबाट छुटेका छन्। लगतमा समावेश नहुँदा उहाँले परिचयपत्र र पुनःस्थापनका प्याकेज पाएका छैनन्।

    पच्चीस वर्षअघि बनाइएको झुपडीमा दामोदरको परिवारका सदस्य बस्दै आएका छन। “प्लाष्टिकको कालो त्रिपाल र घाँसको छाना भएको कच्ची झुपडी बनाएको वर्षौ भइसक्यो”, उनले भने, “झुपडी ढल्ने अवस्थामा पुगेको छ, झुपडी ढले आश्रयस्थलको खोजीमा फेरि भौतारिनुपर्ने छ।”

    उनका चार छोरी र एक छोरा छन्। आवश्यक रकम जुटाउन नसक्दा टिकाटालो गरेर छोरीको विवाह गरी बिदाइ गरेको नमिठो अनुभव उनीसँग छ। “एक मात्रै छोरा, पढाएर ठुलो मान्छे बनाउने धोको नै थियो”, उनले भने, पढाइका लागि आवश्यक रकम जुटाउन सकिन, बीचमै विद्यालय छुटाएर दुई महिनाअघि कमाइ गर्नका लागि भारत पठाएको छु।” छोरालाई भारत पठाउनु रहर नभएर बाध्यता भएको उनले बताए।

    उनी सिलाइसँगै पहिला दामोदर दमाहा बजाउथे। त्यसबाट केही आम्दानी हुन्थ्यो। विवाहमा आधुनिक बैण्डबाजाको प्रयोग हुन थालेपछि बाजा बजाउने कार्य ओझेलमा परेको उनको भनाइ छ। “झुपडीको कुनामा दमाहा झुण्ड्याएको वर्षौ भइसकेको छ”, उनले भने, “बजाउनका लागि माग आउँदैन, दमाहा बजाउने कुरा एकादेशको कथा जस्तै भएको छ।” दसै आए पनि एक छाक खानका लागि अरुसँगै हात थाप्नुपर्ने अवस्था उनको परिवारलाई रहेको छ।

    उनले भने,“हाम्रा पिरमर्का मात्रै नसोध्नोस, दुई छाक खाना सहज रुपमा खाने व्यवस्था, सुरक्षित आवासको व्यवस्थाका लागि पहल गरिदिनोस्, यही मात्रै हाम्रो अनुरोध छ।”

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    १३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको...

    रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा...

    आज २०८२ साल कार्तिक २७ गतेको राशिफल

    आज कार्तिक २७, २०८२ (नोभेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...