काठमाडौँ। संसदीय समितिमा नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले नेपाल वायुसेवा निगमले हवाईजहाज चलाउन नसकेकाले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई जिम्मा दिनुपर्ने बताएका छन् भने सांसदहरुले निगमलाई निजीकरण गर्नुपर्ने प्रस्ताव राखेका छन्।
बिहीवार प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा एमाले सांसद भट्टचन र राप्रपा सांसद पशुपतिसमशेर जबराले निगम निजीकरण गर्नुपर्ने प्रस्ताव राखेका हुन्।
एमाले सांसद भट्टचनले भारतमा पनि एयर इण्डियाले चलाउन नसक्दा टाटा एयरलाइन्सले सञ्चालन गरेको उदाहरण रहेको भन्दै त्यही मोडलमा नेपाल जान आवश्यक रहेको औँल्याए। उनले सरकारले चलाउन नसक्ने भए सरकारले प्रक्रियागत रुपमा निजी क्षेत्रलाई दिनुपर्ने बताए।
उनले हिमालय एयरलाइन्समा चीन सरकारको सहयोग रहेकाले भारतमा उडान गर्न नसके पनि अन्य २० देशमा उडान गरिरहेको बताए। उनले जहाज सी-चेकको समस्या अहिलेसम्म नसुनिएको भन्दै बराबर जहाज हुँदा पनि नेपाल एयरलाइन्समा समस्या बढी समस्यामात्रै आउने गरेको भन्दै सरकारले हिमालय एयरलाइन्सलाई जिम्मा दिनुपर्ने बताए।
‘निगमले हवाईजहाज चलाउन नसकेको भन्ने लाग्छ। सरकारले चलाउन नसक्ने भए सरकारले प्रक्रियागत रुपमा सन् २०२२ मा १४७ वटा जहाजसहित एयर इन्डियाको जिम्मा लिएको उदाहरण छ‚’ उनले भने।
सांसदहरुले सरकारले वायुसेवा निगम चलाउन नसकेको भन्दै निजीकरण गर्नुपर्ने प्रस्ताव समितिमा राखे। उनीहरुले निगम आर्थिक रुपमा कमजोर बन्दै गएको र निगमले जहाज सञ्चालन गर्नसक्ने अवस्था नभएको भन्दै निजीकरण गर्नुपर्ने प्रस्ताव गरे।
भारतजस्तो ठूलो देशमा एयर इण्डिया निजी कम्पनीले सञ्चालन गरेको उदाहरण दिँदै नेपालमा पनि त्यही मोडलमा जाँदा केही समस्या नहुने सांसदहरुको धारणा थियो। सांसदहरुले निगम सुधारको एउटामात्रै विकल्प निजीकरण वा निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिनुपर्ने बताए।
सांसदहरुले निजी कम्पनीका जहाजहरु अहिलेसम्म ग्राउण्डेड भएका समाचारहरु सुन्न नपर्ने तर निगमका ४ वटा जहाजमा ३ ग्राउण्डेड भनेर सधैँ सुन्नुपर्ने अवस्था रहेको बताए।
उनीहरुले एउटा जहाज एक महिनाभित्र सी-चेक भएर नेपाल आउनुपर्ने भए पनि ४/५ महिनासम्म आउन नसक्नुको निगम अध्यक्षसँग कारण माग गरे।
राप्रपा सांसद पशुपतिशमशेर जबराले निगमको वर्तमान समस्याको हल निजीकरण भएमात्रै समाधान हुने बताए। उनले सबै समस्या हल गरी राम्रोसँग निगम सञ्चालन गर्न निजीकरण गर्नुपर्ने धारणा राखे। उनले भारतमा निजीकरण गर्न मिल्छ भने नेपालले पनि गर्न मिल्ने तर्क राखे।
उनले निगममा आधारभूत समस्या रहेको भन्दै एउटा वाइडबडी जहाजले सबै अन्तरराष्ट्रिय उडान गर्न नसक्ने बताए। उनले धेरै जहाज किन्न सरकारसँग पैसा नभएको भन्दै पुँजीको लागि निजी क्षेत्रलाई सञ्चालनको लागि दिन उपयुक्त हुने बताए।
नेकपा एमालेकी सचेतक सुनिता बरालले व्यापार हुने समयमा ४ वटा जहाजमध्ये ३ वटा जहाज ग्राउण्डेड भएको भन्दै नेतृत्वको क्षमता माथि प्रश्न उठाइन्। उनले निगमको नेतृत्व जहाज सञ्चालन गर्ने सन्दर्भमा जिम्मेवार नभएको बताइन्। उनले निगमको नेतृत्वले राजनीतिक दलहरुलाई दोष दिएर भाग्न नमिल्ने बताइन्।
कांग्रेस सांसद उदय शमशेर जबराले नेपाल वायुसेवा निगमका ७५ प्रतिशत जहाज ग्राउण्डेड रहेको बताए। उनले ४ वटा जहाजमध्ये एउटै समयमा ३ जहाज ग्राउण्डेड विश्वका कुनै पनि देशमा नहुने उल्लेख गरे। उनले जहाज मर्मतको लागि इजरायल, इटली जाँदा फर्कंदै नफर्कनुको कारण के हो भन्दै प्रश्न गरे।
माओवादी केन्द्रका सांसद सुदन किराँतीले सार्वजनिक खरिद ऐन पुरानो भएको कारण पनि जहाज मर्मतलगायत समस्या भएको जिकिर गरे। उनले निगमको संरचनागत सुधार गर्न पनि आवश्यक रहेको बताए। उनले निगमलाई व्यवस्थित गर्न भएका अध्ययन र अनुसन्धानलाई राजनीतिक स्वार्थभन्दा माथि उठेर लागू गर्न आवश्यक रहेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले जहाजका पार्टपुर्जाहरु कुन समयमा बनाउनुपर्छ भन्ने सबै सेड्युलमा हुँदा पनि ३ जहाज एकैपटक ग्राउण्डेड हुनु राम्रो नभएको बताए।
उनले निगमका जहाजहरु राम्रो योजना बनाएर सञ्चालन गर्ने भन्दा पनि निगम नेतृत्व विदेश भ्रमणमा मात्रै गइराख्नु उपयुक्त नभएको बताए। – थाहाखबरकाे सहयोगमा।